वीरगन्ज, २४ माघ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको म्याजिक मोमेन्ट सिमरा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण मंगलबारदेखि बाराको सिमरा रंगशालामा सुरु भएको छ । प्रतियोगितामा काठमाडौंको न्युरोड टिम एनआरटीले विजयी शुरुआत गर्यो । उद्घाटन खेलमा एनआरटीले जाउलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको हो । जितसँगै एनआरटी क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र गोल २३औँ मिनेटमा विदेशी खेलाडी ओलाइलो आर इब्राहिमले गरेका थिए ।
जावलाखेलका प्रशिक्षक किशोर केसीले खेलाडीको खराब प्रदर्शन र भाग्यले साथ नदिएका कारण हार बेहोरेको प्रतिक्रिया व्यक्त गरे । केसीले इब्राहिमले गरेको गोल अफसाइड भएको दाबीसमेत गरे । पराजित जावलाखेलका गोलरक्षक सोनम फरल्यान्ड खेलका म्यान अफ द म्याच घोषित भए । बुधबारको खेल नेपाल आर्मी र मच्छिन्द्र क्लबबीच हुनेछ ।
प्रतियोगिताको प्रायोजक रोलीङ रिभर डिस्टिलर्स चितवनका प्रमुख कार्यकारी निर्देशक श्रीहर शमशेर जवराले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, नेपाली कांग्रेसका निवर्तमान सभासद् शोभाकर पराजुली, एमाले वैकल्पिक केन्द्रीय सदस्य अच्युत मैनालीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
नवजनजागृती युवा क्लब सिमराले आयोजना गरेको प्रतियोगितामा कुल १२ वटा टिमको सहभागिता रहेको छ । सहभागी टोलीमा हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, रानीपोखरी कर्नर टिम आरसिटी, मनाङ मस्र्याङ्दी क्लब, एन्फा एकेडेमी, सहारा क्लब, प्रेmन्डस क्लब, संकटा क्लब, थ्री–स्टार क्लब र आयोजक नवजनजागृति युवा क्लब सिमरा छन् । कुल ५६ लाख रुपियाँ खर्च हुने यस प्रतियोगिताको उपाधि विजेताले नगद चार लाख रुपियाँ र ट्रफी पाउनेछन् । त्यस्तै उपविजेता टिमले दुई लाख रुपियाँ र ट्रफी पाउनेछ ।
प्रतिक्रिया