जाडो बढेसँगै गाउँगाउँमा बाल्न थालियो ‘घुर’

बारा । जिल्लाको कलैया उपमहानगरपालिका–१६ उत्तरझिटकैयामा शनिबार साँझ हरेन्द्र पटेलको घर आँगनमा बालिएको घुर नजिकै एक समूह बसेको भेटिए । तराईको महान पर्व छठ, दीपावली सकिएसँगै अहिले जाडोको अनुभव गर्न थालिएपछि उनीहरू घुर बालेर बस्न थालेका हुन् । जाडोबाट राहत पाउन उनीहरू घुरअगाड बसेर हातखुट्टा सेक्न थालेका हुन् । दिउँसो घाम लागे पनि बिहान र बेलुका अत्यधिक जाडो बढेको महसुस गर्न थालिएको स्थानीय हरेन्द्र कुशवाहाले बताए । बुढापाका हुन वा बालबालिकालाई जोगाउन र जाडोको प्रकोपबाट राहत पाउन घुर बाल्न सुरु गरिएको उनले बताए ।

‘बिहान, बेलुका धेरै चिसो लागिरहा छ, त्यसैबाट बच्न घुर बाल्न सुरु गरेका छौँ,’ उनले भने, ‘घुर बालेपछि वरिपरिका मान्छे आगो ताप्न आउन थालेका छन ।’ करीब दुई सातादेखि घुर बाल्न सुरु गरिएको उनले बताए । प्रत्येक दिन पाँच÷सात जनाभन्दा बढीले आगो ताप्न आउने गरेको उनले बताए । पखले दोमास परेकाले चाडवाड पछाडी धकेलिएको र चाडवाड नसकिँदै बारा, पर्सा, रौतहट, सर्लाहीलगायत मधेस प्रदेशको आठ वटै जिल्लामा जाडो बढेको अनुभूति गर्न थालिएको स्थानीयहरूको भनाइ छ । जाडो बढ्न थालेपछि सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, मगन्ते, फुटपाथमा रात कटाउने मानसिक सन्तुलन गुमाएका व्यक्तिहरू प्रभावित बन्न थालेको कलैयाका व्यवसायी शंकर साहले बताए ।

‘दोमास नपरेको भए अहिलेसम्म छठ दीपावलीसमेत सकिसक्या हुन्थ्यो,’ उनले भने, ‘दोमासलाई नमान्ने हो भने अहिले जाडोको समय हो ।’ त्यही कारण अहिले नै जाडो बढेको महसुस गरिएको हो । यसपाली छठपूजामा सहभागी भएका व्रतालु तथा तिनका आफन्त सबैले अनिवार्य सुइटर, ज्याकेट लगायतका न्यानो कपडा लगाउने अवस्था आएको व्यवसायी साहको भनाइ छ । दोमासले जाडोको दिन आएको÷नआएको सर्वसाधारणलाई अलमलमा पारेको स्थानीयहरूको भनाइ छ ।

साँझमा चल्ने चिसो हावाले थप जाडो बढाएको वृद्धवृद्धाहरूको भनाइ छ । सडकमा हिँड्दा ठुलो गाडी गुडदा उसको प्रेसरले चलेको हावा धेरै चिसो रहेको अनुभूति गरिएको कलैया भरत चोकमा भेटिएका एक बटुवाले बताए । हुने खानेलाई जाडोले धेरै प्रभाव पार्न नसके पनि गरिब, विपन्नलाई सबभन्दा बढी प्रभावित बनाउने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया