पुस १२ देखि घरजग्गा सम्बन्धी प्रदर्शनी

काठमाडौं । आगामी पुस १२ देखि काठमार्डौमा घरजग्गा सम्बन्धी प्रदर्शनी ‘रियल इस्टेट एक्स्पो’ हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको संस्था नेपाल जग्गा तथा आवास विकास संघ (NLHDA) ले मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस १२ देखि १५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनी हुने जनाएको हो ।

संघले विगतमा सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रा. लि. को व्यवस्थापनमा यो आठौं एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरेको संघले जनाएको छ ।

नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा राख्दै घरजग्गा विकासकर्ताहरूले नेपाल सरकारको नीति तथा प्रचलित कानून बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संघले जनाएको छ । यो आठौं रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुने संघको अपेक्षा छ ।
नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भएपनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्रहरु व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने संघले जानकारी दिएको छ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । साथै, यस एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरु पनि उपलब्ध गराइने पनि जनाइएको छ । त्यसैगरी यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने पनि संघले उल्लेख गरेको छ ।

प्रतिक्रिया