काठमाडौं । आइसिसी टी– २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको फाइनलमा नेपाल र ओमान खेल सुपर ओभरमा पुगेको छ ।
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झा र सोमपाल कामीले समान १ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको हो । नेपालका लागि गुल्शन झा र कप्तान रोहितकुमार पौडेलले ७८ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको इनिङ उकासे ।
गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिए । उनले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रन बनाए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए ।
नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । ६ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।
त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् ।
यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे ।
त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसिले अविजित २० रन जोडे । बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए ।
त्यस्तै जिसन मक्सुदले एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
प्रतिक्रिया