काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् । शर्मालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे ।
भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
साथै भ्रमणका क्रममा शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको अवलोकन गर्ने कार्यक्रम छ । प्रधान सेनापति शर्मा यही कात्तिक १६ गते स्वदेश फर्कने छन् । भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत सहभागी छन् ।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया