रौतहटमा म्याद सकिएको सामाग्री छ्यापछ्याप्ती

रौतहट । जिल्लामा म्याद सकिएको सामग्री छ्यापछ्याप्ती पाइने गरेको छ । अहिले बजारमा म्याद सकिएका खाद्य सामग्री, अखाद्य सामग्री छ्यापछ्याप्ती पाइएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगञ्ज पर्सा, घरेलुु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटले संयुक्त रूपमा गरेको बजारमा अनुगमनको क्रमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले पसलमा राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको अनुगमनमा सहभागी एक अधिकारीले जानकारी दिए । बजारमा कम अनुगमन हुने गरेको मौका छोपी व्यापारीले म्याद नाघेको सामान बिक्री गर्ने गरेको पाइएको बुझिएको छ ।

घरेलुु तथा साना उद्योग कार्यालय गौर रौतहटका प्रमुख जयकान्त झाका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका दालमोठ, मसाला लगायतका सामान छन् । कस्मेटिक पसलमा केशकिङ तेल, ग्लुकोज, विभिन्न किसिमका तेलहरू रहेका छन् । हार्डवेयर पसलहरूमा पनि म्याद नाघेको पेन्टहरू पाइएका छन् ।
यहाँका व्यापारीहरूले सही म्याद नाघेका खाद्य सामग्रीलाई व्यापारीले उपभोक्तालाई झुक्याएर बिक्रीवितरण गर्ने गरेका छन् । म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कार्यवाही गर्ने अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयलाई छ ।

कुनै व्यापारीले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा जरिवाना, कैद वा दुवै हुन सक्ने प्रावधान रहेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल पाँच हजारदेखि तीन लाख जरिमाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा एक देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने अधिकार छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया