हङकङलाई हराउँदै नेपाल समूह विजेता

cricketबैंकक, १६ माघ । पछिल्ला दुई संस्करणको सेमिफाइनलमा बेहोरेको हारलाई बिर्संदै नेपाल सोमबार साबिक विजेता हङकङलाई ६ विकेटले पराजित गरी समूह विजेताका रूपमा एसिसी महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्र्तगत आफ्नो अन्तिम खेलमा पछिल्ला दुई संस्करणको विजेतासमेत रहेको हङकङविरुद्ध सानदार प्रदर्शन गरेर नेपाल अपराजित यात्रासहित अन्तिम चारमा पुगेको हो । अब नेपालले फाइनल प्रवेशका लागि थाइल्यान्डको सामना गर्नेछ ।

नेपालले बलियो टोलीलाई पराजित गर्ने क्रममा सानदार बलिङ गर्‍यो । पहिला ब्याटिङ गरेको हङकङ २१.४ ओभरमा ५४ रनमा सीमित भएको थियो । बलिङतर्फ सरिता मगरले चार तथा नेरी थापा र करुणा भण्डारीले समान तीन विकेट लिए । सरिताले पाँच ओभरमा १३ रन दिइन् भने १.४ ओभर बलिङ गर्ने क्रममा करुणाले दुई रन मात्र खर्चिएकी थिइन् । पाँच ओभर बलिङ गर्ने क्रममा दुई मेडन राखेकी नेरीले १४ रन दिइन् । पहिलो विकेटका लागि २३ रन जोडेको हङकङ त्यसपछि लगातार दबाबमा आएको थियो । नेरीले पहिलो विकेटका रूपमा चाक का यिङलाई १२ रनमा आउट गरेपछि पतन सुरु भएको हङकङ ३८–५ को स्थितिमा पुगेको थियो । पाँच खेलाडीले खाता खोल्न नसकेको हङकङको इनिङमा दुई खेलाडीले मात्र दोहोरो अंक छोए ।
नेपालले १८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । दुवै प्रारम्भिक ब्याट्सवुमन खाता खोल्न असफल भए पनि नेपालका लागि नेरी र सरिता मगरले सानदार प्रदर्शन गरे । नेरीले नटआउट २३ रन जोडिन् भने सरिता १४ रन जोडेर पेवेलियन फर्किइन् । नेरी र सरिताबीच चौथो विकेटका लागि ३३ रनको साझेदारी भएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी रोशनी बोहरासमेत एक रन जोडेर आउट भएपछि नेपाल कुनै समय ६–३ को स्थितिमा थियो । नेरीले नटआउट ७ रन जोडेकी रुविनासँग अविजित १६ रनको साझेदारी गरिन् ।
चार खेलपछि नेपालको ८ अंक भयो । नेपालसँग पराजित भएपछि हङकङ ६ अंकसहित समूह उपविजेता भयो । हङकङले सेमिफाइनलमा चीनको सामना गर्ने छ ।
चीन समूह ‘बी’को विजेता र थाइल्यान्ड उपविजेता भएका हुन् । समूहको आफ्नो अन्तिम खेलमा थाइल्यान्डलाई ४७ रनले पराजित गरी चीन अपराजित यात्रा कायम राख्न सफल भयो । हङकङसँग पराजित भएपछि थाइल्यान्डको अपराजित यात्रा टुंगिएको छ । सेमिफाइनलका दुवै खेल बुधबार हुनेछन् । फाइनल बिहीबार हुने कार्यक्रम छ ।
१ सय १९ रनको लक्ष्य पछ्याएको थाइल्यान्डलाई हङकङले १९ ओभरमा ७१ रनमा समेट्यो । थाइल्यान्डका एक खेलाडी मात्र दोहोरो अंक छुन सफल भए । एजेन्सी

प्रतिक्रिया