काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद प्रतिष्ठानको आयोजनामा खेलकुद प्रशासन तथा व्यवस्थापन तालिम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शनिबार सुरु भएको छ । राखेपअन्तर्गतका प्रशासनिक कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमको राखेप सदस्य–सचिव युवराज लामाले उद्घाटन गरे ।
तालिममा केन्द्र, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रसुवा र रामेछापका १ सय ७१ कर्मचारी सहभागी छन् । तलिममा लिडरसिप इन स्पोर्टस्, खेलकुद व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संगठन, योजना, साधारण लेखा परीक्षण, ओलम्पिक मुभमेन्ट र कार्यालय व्यवस्थापन तथा कार्यविधिका बारे जानकारी दिइनेछ । राखेपअन्तर्गतका प्राविधिक कर्मचारीलाई पनि लक्षित गरी प्रतिष्ठानले माघ १७ देखि १९ गतेसम्म खेल विज्ञान तालिम सञ्चालन गर्दै छ । प्रशासनिक कर्मचारीहरूको तालिम सोमबार
सम्पन्न हुनेछ ।
यस्तै प्रकारको तालिम अन्य पाँच विकास क्षेत्रमा सञ्चालन गरिने प्रतिष्ठानका निर्देशक केशवराज गौतमले जनाएका छन् । पूर्वाञ्चलको धरानमा माघ २७ देखि २९, मध्यमाञ्चलको हेटौँडामा फागुन २ देखि ४, पश्चिमाञ्चलको बुटवलमा ६ देखि ८, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा फागुन १० देखि १२ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा फागुन १४ देखि १६ मा तालिम हुनेछ । (सौस)
प्रतिक्रिया