कोहलपुर । समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश समितिको बैठक पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेयको प्रमुख उपस्थितिमा भएको बैठकमा संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, पार्टीका केन्द्रीय सदस्य अब्दुल हुसेन खान, संगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरुको उपस्थितिमा बाँकेको कोहलपुरमा सम्पन्न भएको हो ।
उक्त बैठकले पाँच बुँदे कोहलपुर घोषणापत्र जारी गरेको छ । संगठनले बैठकको अवसर पारेर रक्तदानको कार्यक्रम पनि आयोजना गरेको थियो । समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिको रुपमा नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाइ, एकीकृत समाजवादीका नेता लोकमणि आत्रेयललगायतको उपस्थिति थियो ।
कार्यक्रममा संगठनका बाँके अध्यक्ष लोकनाथ शर्माले स्वागत गरेका थिए भने सञ्चालन बर्दियाका अध्यक्ष प्रतापकुमार गौतमले गरेका थिए । सो अवसरमा ५० जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा जारी घोषणापत्र निम्न अनुसार छन्
१. समाजवादी प्रेस संगठन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारितालाई आत्मसाथ गर्दै समुन्नत, समानतायुक्त र सभ्य समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अबस्थामा, मिशन पत्रकारितालाई अगाडि बढाउनु पर्ने ठहर गर्दछ ।
२. नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा हाम्रो संगठन पूर्ण रुपमा कार्यान्वयनको पक्षमा रहको छ । तर, लुम्बिनी प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन महासंघको ध्यानआर्कषण गराउँदछौँ ।
३. लुम्बिनी प्रदेशका विभिन्न सञ्चारमाध्यमा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएकाले सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न हाम्रो संगठन सचेत गराउँदछौँ ।
४. संघीय, प्रदेश र स्थानीय सरकारहरुले बनाउने सञ्चारसम्बन्धी ऐन नियमहरु सञ्चारमैत्री बनाउन र तीन तहका सञ्चार सम्बद्ध सरकारी नियुक्तिमा सबै संगठनको प्रतिनिधित्व र समावेशी नीति लागू गर्न माग गर्दछ । साथै स्थानीय रुपमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि मुख्य प्राथमिकतामा राख्न जोडदार माग गर्दछौँ ।
५. लुम्बिनी प्रदेश पर्यटकीय स्थलका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले प्रदेश सरकारसहित सरोकारवाला सबैलाई २०८० देखि ९० सम्म ‘लुम्बिनी भ्रमण दशक’ का रुपमा मनाउने गरि नीति बनाउन र पत्रकार एवं सञ्चारमाध्यमहरुलाई समेत पर्यटनका मुद्दालाई उच्च प्राथमिकता दिन माग गर्दछ ।
प्रतिक्रिया