रसुवा । रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको हो ।
निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औषधिसहित चिकित्सक टोली तयार गरेको छ । गोसाइँकुण्ड मेला आगामी भदौ ७ गतेदेखि १४ गतेसम्म लाग्ने छ ।
गोसाइँकुण्ड १४ हजार एक सय फिटको उचाइमा पर्छ । भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित ६ जना चिकित्सकलाई तयारी अवस्थामा राखिएको हिमालय उद्धार संघका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले बताए ।
उक्त संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाई एवं प्रत्यक्ष रेखदेखमा उपचार सेवा प्रदान गरिने छ । उक्त टोलीमा डा निसान्त जोशी, डा. पशुपति पोखरेल, डा. श्रीयासी कार्की, डा. आयुस्का पन्त, डा. कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहेका छन् ।
संघले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ ।
‘दर्शनार्थीलाई चिकित्सकसहित औषधि, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ’, कार्यकारी निर्देशक बत्स्यालले भने । गोसाइँकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले १५ हजारभन्दा बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका क्षका साथ यात्रुको आवश्यक सेवा सुविधाका लागि संस्थाले काम गरिरहेको बताए ।
प्रतिक्रिया