पहिरोमा परेर दुई जनाको मृत्यु, एक घाइते

रुकुमपश्चिम । जिल्लाको बाँफिकोट गाउँपालिका–७ को बाँसतलामा घाँस काट्ने क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । आइतबार दिउँसो पोखरापरी भिरमा घाँस काट्न गएका बेला पहिरोसँगै खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा बाँफिकोट–७ की ४५ वर्षीया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षीय कालीबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार खत्री र खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै घाइते हुनेमा बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री रहेको डिएसपी भट्टराईले जानकारी दिए । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको जनाइएको छ । उनीहरू करिब पाँच सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना भएको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरीचौकी नदुवा र इलाका प्रहरी कार्यालय आठबीसकोट राडीको टोली पुगेको थियो ।
यसैगरी वर्षात् सहितको पहिरोले रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० पेदामा तीन घर तीन पानी घट्ट र एउटा गोठ बगाएको छ । शनिबार राती आएको पहिरोले आठबिसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाको सिमानामा रहेका घरहरू बगाएको छ भने एक घर पहिरोको उच्च जोखिममा परेको छ ।
पहिरोको कारण स्थानीय बम बहादुर ओली, शिवबहादुर खत्री र बिर्खबहादुर खत्रीको ढुंगामाटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी रुकुमपश्चिमले जनाएको छ । रमिता कामीको सपरिवार बस्दै आएको घरमा पहिरो जाँदा उच्चजोखिममा परेको र पानी घट्ट बगाएको स्थानीय खुमराज ओलीले बताए ।
वर्षा जारी रहेकाले थप बाढी पहिरोको जोखिम बढ्दै गएको बताइएको छ । स्थानीय खोला नजिकैका सडकबाट झरेको पहिरोले घर, गोठ र पानी घट्टमा पूर्ण क्षति पु¥याएको हो । केही दिन पहिले पहिरोले सोही ठाउँमा पक्की पुलमा क्षति पु¥याएको थियो । अविरल वर्षापछि आएको पहिरोबाट मानवीय क्षति हुन पाएन भने गुजारा चलाउँदै आएको पानी घट्टसहित घरहरूमा पूर्ण क्षति पु¥याएको छ ।

पहाडी संरचना रहेको रुकुमपश्चिममा बाढी र पहिरोले बर्सेनि करोडौंको क्षति गरिसकेको छ । विभिन्न स्थानमा आएको पहिरो र बाढीले घर, चौपाया तथा धनमाल नष्ट हुने गरेका छन् । यसपटक पनि वर्षात् सुरु भएसँगै बाढीपहिरोले क्षति गर्दै आएको छ ।

प्रतिक्रिया