महोत्तरीमा एनएमबी बैंक लुट्ने भारतीय युवक पक्राउ

जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए ।

चार–पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

प्रतिक्रिया