चितवनमा ३९ जनाले लिए अंगीकृत नागरिकता

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन् ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार ६ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए ।

सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए । कार्यालयको तथ्यांक अनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन् ।

गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन् । कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार एक सय ९ राजस्व संकलन गरेको उनले बताए । सबैभन्दा धेरै राहदानीबाट रु १३ करोड सात लाख ९० हजार संकलन भएको छ ।

यस्तै प्रशासनिक दण्ड जरिवानाबाट रु छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत रु १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत रु चार लाख ४२ हजार तथा बेरुजुबापत रु नौ हजार संकलन भएको न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया