रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिकाका इन्जिनियर माथि कुटपिट भएको छ । गाउँपालिकामा कार्यरत इन्जिनियर रेशम लम्सालमाथि कार्यालय जाने क्रममा नजिकैको सिम्ली बजारमा कुटपिट भएको हो ।
बुधबार बिहान कार्यालय जादैँ गरेका लम्साललाई सानीभेरी गाउँपालिका–३ का स्थानीय गोविन्द प्रकाश ओलीले कुटपिट गरेका हुन् । निर्माण योजनाको विषयलाई लिएर कुटपिट भएको जनाइएको छ ।
सोही पालिकाको ३ नम्बर वडामा रहेको बेल्टापु रंगशाला निर्माण योजनाको प्राविधिक मूल्यांकन कम गरेको निहुँमा इन्जिनियर लम्सालमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
५० लाख रुपैयाँको योजनालाई इन्जिनियर लम्सालले ३६ लाखको मूल्यांकन गरेको बुझिएको छ । उक्त योजनामा झण्डै १४ लाख घटाएर मूल्यांकन भएपछि कुटपिट भएको बताइएको छ । कर्णाली प्रदेश पूर्वाधार विकासअन्तर्गत रंगशाला निर्माणका लागि ५० लाख आएको थियो ।
सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीका अनुसार इन्जिनियरलाई दुई झापड हानेर बिच बजारमा हुत्याइएको थियो । हातपात गर्ने ओली सिम्ली प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया