मकवानपुरमा दुई वटा ट्रक ठोक्किएर आगलागी : तीन जनाको मृत्यु

मनहरी । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँ बस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडक खण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा तीन जनाको ज्यान गएको कार्कीले बताए । मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए ।

आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना ६ ख ६३१ नम्बरको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया