धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आव २०८०–८१ का लागि १ अर्व ९३ करोड ८ लाख २४ हजारको बजेट ल्याएको छ । आइतबार नगरसभाको दशौँ अधिवेशनमा नगर उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आवका लागि बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले चालुतर्फ १ अर्व १७ करोड ४४ लाख ९७ हजार र पुँजिगततर्फ ७५ करोड ६३ लाख २७ हजार अनुमानित बजेट विनियोजन गरेको बताइन् । उपमहानगरले आयस्रोतमा आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार,राजस्व बाँडफाँडबाट ४६ करोड ९७ लाख र नेपाल सरकारको अन्त सरकारी वित्तीय हस्तान्तरणबाट ९२ करोड ८५ लाख प्राप्त हुने जनाएको छ ।
त्यस्तै उपमहानगरपालिकाले प्रदेश सरकाको अन्त सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त हुने ५ करोड ३२ लाख १२ हजार र सरी आएको मौज्दात १२ करोड ५० लाख आयस्रोततर्फ राखिएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले क्षेत्रगत कार्यक्रम अन्तरगत आर्थिक विकासतर्फ ९ करोड ६५ लाख ९३ हजार,सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख ५ हजार र पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार बजेट विनियोजन गरिएको बताइन् । त्यस्तै सुशासन तथा अन्तर सम्बन्धितर्फ ५ करोड ६५ लाख ५५ हजार र कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार बजेट विनियोजन गरेको रानाले बताइन् ।
चालु आवमा उपमहानगरपालिकाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट ल्याएको थियो । चालु आवको तुलनामा आगामी आवाका लागि प्रस्तुत गरिएको बजेट झण्डै १० करोडले बढी रहेको छ ।
उपप्रमुख रानाले विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चभार घटाउने,खरिद प्रक्रियालाई पारदर्शी बनाउने, तोकिएको समयभित्रै खरिद कार्य सम्पन्न गर्ने तथा आन्तरिक स्रोतले चालु खर्च धान्नेगरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने व्यवस्था मिलाउने बताइन् ।
कैलाली
प्रतिक्रिया