बिराटनगर तनावग्रस्त

विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ । शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । बिराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थीतिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस छाडेको छ ।

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको शनिबार अत्येष्टि गर्न बिराटनगरमा शवयात्रा गरिएको हो । ‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ ।

संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिना देखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिवार अन्त्येष्टि गर्न लागिएको हो ।

आन्दोलनरत पक्षले प्रहरीलाई रोडशेष चोकमा शान्तिपूर्ण रुपमा श्रद्धाञ्जली सभा गर्ने जानकारी गराएको थियो । तर इटहरीबाट शव राखिएको एम्बुलेन्स भन्दा अगाडिको गाडीका आएका लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले प्रहरीको ब्यारिगेट हटाएर मुख्यमन्त्री कार्यालय अगाडि जान खोजे । आक्रोशित भिडले ब्यारिगेट हटाउन माग गर्दै प्रहरीमाथि ढुंगामुढा गरे ।

ब्यारिगेट हटाएपछि झडप भयो । आक्रोशित भिडले ढुंगामुढा गरेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्यो । आन्दोलनरत पक्षले पेट्रोल बम पनि प्रहार गरेको प्रहरीको दाबी छ ।
आधा घण्टा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको थियो ।

श्रद्धाञ्जलीसभा गर्ने भनिएको स्थान रोडषेश चोक तनाबग्रत भएपछि आन्दोनरत पक्षले महेन्द्र चोकमा श्रद्धाञ्जलीसभा गरेको थियो । श्रद्धाञ्जली सभापछि लिम्बुको शवलाई अन्येष्टिका लागि मोरङको बेलबारीस्थित उनको घरमा लगिएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पून नामाङ्कन संघर्षसमिति गठन गरेर आन्दोलनमा छन् ।
पहिचानको पक्षमा पून प्रदेशको नामाङ्कनको माग गर्दै आएको पहिचान पक्षधरले आइतबार सुनसरीको इटहरी र सोमबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया