मोरङको तेतरियामा अवैधरुपमा कौडा खेल सञ्चालन

लहान । विराटनगर महानगरपालिकासँगै जोडिएको ग्रामथान गाउँपालिकामा संस्थागतरूपमा अवैध जुवा खेल सञ्चालन हुने गरेको पाइएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसँगै जोडिएको ग्रामथान गाउँपालिका– ४ मोतिपुर र वडा नम्बर – ५ को तेतरियामा दैनिकरूपमा जुवा सञ्चालन हुने र त्यहाँ करोडौँको कौडा खेल हुने गरेको पाइएको हो ।

जुवाका कारण पूरै गाउँ नै प्रभावित बन्दै गएको स्थानीयको गुनासो छ । धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारी समेतका ठाउँबाट खेलाडी बोलाएर अवैधरूपमा जुवा सञ्चालन हुँदा समेत स्थानीय प्रहरी, मोरङ जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेल, कोशी प्रदेशका प्रहरी प्रमुख एसएसपी राजेश बास्तोला मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ ।

जुवा सञ्चालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर एक– दुई किमिको फरकमा हुूदासमेत प्रहरीले अनदेखा गर्दै हिँडेपछि जुवाले प्रश्रय पाएको स्थानीयको दाबी छ । केही महिना अगाडि उक्त जुवा खालबाट जुवा सञ्चालन गर्ने सञ्चालकदेखि केही खेलाडीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

तर, पनि प्रहरीले कुनै कारबाही नै नगरी उनीहरूलाई छोडेको स्थानीयको भनाइ छ । उक्त घटनापछि जुवा खेलले झनै ब्यापकरूप लिएको स्थानीयको गुनासो छ ।

महानगरभन्दा करिब १० किमि फरकमा सञ्चालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने हुुँदा खेलाडीहरूका लागि पनि सुरक्षित स्थान बन्न थालेको छ ।

स्रोतका अनुसार सुनसरी मोरङ सिचाइ आयोजनाअन्तर्गत सञ्चालनमा रहेको ग्रामथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवं हरीनगरा माहादेवकोल सिँचाइ योजनाका अध्यक्ष सुदिप कुुमार माझीले कौडा जुवाको खाल लामो समयदेखि सञ्चालन गर्दै आएका छन् ।

उक्त कौडा जुवा लामो समयदेखि सञ्चालन हुँदै आएका कारण विराटनगरका व्यापारी तथा छिमेकी जिल्लाबाट आउने खेलाडीको व्यापक सहभागिता हुने गरेको छ ।

यसरी अवैधरूपमा सञ्चालन भएको जुवाका कारण गाउँको वातावरण नै धुमिल बनेपछि स्थानीयको विरोध सुरु भएको बताउन थालिएको छ ।

इलाका प्रहरी कार्यालय बेलवारी मातहत रहेको मोतीपुर प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको छ भने मोरङ जिल्ला प्रहरी कार्यालयलाई कोसी प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा सञ्चालन गरेको छ ।

प्रतिक्रिया