पुरानो पुस्ताका पत्रकार, नयाँ प्रविधि सिक्दै

इलाम । इलामका पत्रकार सोम सुनुवार जिल्लाका पुरानो पुस्ताका पत्रकारमध्येका एक हुन् । तत्कालीन समयको हस्तलिखित पत्रकारिताबाट यस क्षेत्रमा आएका सुनुवार हाल उमेरले ५० वर्ष पार गरिसकेका छन् । विभिन्न साहित्यिक पत्रपत्रिका हुँदै रेडियो पत्रकारितामा आएका सुनुवार पत्रकारिताबाट टाढा कदापी हुन सकेनन् । सुनुवारसँगै पत्रकारितामा आएका अधिकांश पत्रकारहरू हाल यो क्षेत्रबाटै पलायन भइसकेका छन् ।

तर सुनुवारलाई भने यही क्षेत्र प्यारो लागेको छ । उमेरले पाको हुँदै गए पनि उनको इच्छाशक्ति भने जवानी नै छ । पछिल्लो समय प्रविधिको विकाससँगै सुरु भएको पत्रकारितामा समेत उनको रुचि उत्तिकै छ । सञ्चारमाध्यमहरूले अपनाउन थालेको मल्टिमिडिया प्रणालीमा आफूलाई समेत सँगसँगै डो¥याउन चाहन्छन् सुनुवार ।

इलाम सदरमुकाममा आयोजित मल्टिमिडिया पत्रकारिता तालिममा सहभागी भएर सुनुवार नयाँ प्रविधि सिक्दै छन् । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले आयोजना गरेको तालिममा आफ्ना थुप्रै विद्यार्थी पत्रकारसहित सुनुवारसमेत सहभागी भएका हुन् । ‘हाम्रो पालामा यस्तो प्रविधि केही थिएन । सुरुसुरुमा हातले लेख्ने र फ्याक्स गर्ने व्यवस्था मात्र थियो । पछि इमेलको व्यवस्थाले केही सहज बनायो । ‘अहिले त के–के हो के–के । टेक्स, अडियो र भिडियो एकैठाउँमा, त्यो पनि तुरुन्तै’, सुनुवार भन्छन्, ‘छिनछिनमा पाठक, श्रोता र दर्शकलाई सूचना प्रवाह गर्न पछिल्लो समय प्रविधिले ल्याएको सुविधामा जोडिनकै लागि म पनि सहभागी भएको हुँ ।’

सुनुवारसँगै जिल्लामा स्थापित अन्य थुप्रै पत्रकारहरू पनि तालिममा सहभागी भएर नयाँ प्रविधि सिक्दैछन् । नागरिक दैनिकका संवाददाता भीम चापागाईं, गोरखापत्र दैनिककी संवाददाता कोकिला ढकालसहित राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा कार्यरत २२ जना पत्रकारहरू सहभागी छन् ।

आफू पत्रकारितामा नै रहे पनि पछिल्लो प्रविधिसँग नजिक हुनका लागि मल्टिमिडिया पत्रकारिता तालिममा सहभागी भएको नागरिकका संवाददाता चापागाईं बताउँछन् । ‘पत्रकारिता सुरु गरेको झण्डै २० वर्ष जति भयो । तर हरेक तालिममा केही न केही नयाँ कुरा जान्न पाइन्छ’, चापागाईं भन्छन्, ‘मल्टिमिडिया तालिम जिल्लामा पहिलोपटक सञ्चालन भएकाले पनि सहभागी भएको हुँ ।’

तालिममा अधिकांश जिल्लाका अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकहरूसमेत सहभागी छन् । प्रविधिमैत्री पत्रकारिता गर्नका लागि तालिमम सहभागी भएको उनीहरूले बताएका छन् । सहभागीलाई अनलाइन खबरका सम्पादक वसन्त बस्नेत र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइरहेका छन् । तालिममा पत्रकारलाई अनलाइन पत्रकारितासँगै मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाइरहेको प्रशिक्षक भिषण राईले बताए ।

मल्टिमिडिया पत्रकारिता तालिम जिल्लामा पहिलोपटक सञ्चालन भएकाले पनि पत्रकारहरूको उत्साहजनक सहभागिता पाएको उनको भनाइ छ । तालिम शनिबारसम्म सञ्चालन हुनेछ । पछिल्लो समय इन्टरनेटको प्रयोगले डिजिटल मिडिया प्रयोग ह्वात्तै बढेसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले जनाएको छ ।

प्रतिक्रिया