अत्तरिया । कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको मालाखेती अस्पतालमा शिशु र सुत्केरीको मृत्यु भएको छ ।
आइतबार व्यथा लागेर सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका– २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको बताइएको छ । उक्त अस्पतालमा चिकित्सकहरुको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।
स्थानीयहरुले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन् । स्थानीयहरुले लापरबाही गर्ने अस्पतालका चिकित्सक र प्रशासनलाई कारबाहीको माग गरेका छन् । चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन् ।
उनले नर्मल छ भन्दै उपचारमा चिकित्सकहरुले चासो नदिएको आरोप समेत लगाएकी छन् । ‘सुत्केरी व्यथा नलागेकाले डाक्टरहरुले दुई–तीन पटक व्यथा लाग्ने औषधि लगाए, तर पनि व्यथा लागेन’, उनले भनिन्, ‘हिजो साँझसम्म पनि केही भएन, डाक्टरहरुले टाईम–टाईममा आएर औषधि राख्ने जाने गर्नुभयो, त्यति मतलब गर्नुभएन ।’
उनले चिकित्सकहरुले मतलब नगरेकाले समयमै उपचार नहुँदा आफ्नी दिदिको मृत्यु भएको गुनासो गरिन् । ‘रातिको समयमा नर्सहरुलाई बोलाउँदा हामीहरुलाई सुत्न दिनुस्, हामी बिहान आउछौँ भनेर भन्न थाले’ उनले भनिन्, ‘बिहान ३ बजेतिर अफ्ठ्यारो हुदैछ भनेर दिदिले हिँडडुल गर्नुभयो, उहाँलाई बिहानदेखि सास फेर्न अफ्ठ्यारो भएको थियो ।’
उनले बिहानदेखी नर्सहरुले अक्सिजन चढाएको बताइन् । उनले सुत्केरीलाई ज्वरो आउने र सास फेर्न अफ्ठ्यारो हुने भएपछि मात्रै अलिकति ध्यान दिएको बताइन् ।
‘ज्वरो आएपछि डाक्टरहरुले सिटामोल दिएका थिए, त्यसपछि अक्सिजन र स्लाईन पनि चढाए, नर्सहरुले अक्सिजन र स्लाईन लगातार दिई राखेका थिए, त्यो दिएर पनि दिदिलाई अफ्ठ्यारो भइरहेको थियो’ उनले भनिन्, ‘अफ्ठ्यारो भए धनगढी लैजान्छौ भनेर भनेका थियौ तर नर्सहरुले नर्मल छ, अफ्ठ्यारो भए हामी भनिहाल्छौ भन्नुभयो ।’
उनले बिहान अर्को डाक्टर आएपछि मात्रै उनले विरामीलाई समस्या भएको जानकारी गराएको बताईन् । उनले विरामीलाई अरु केही चेकअप नगरी सुईबाट औषधि चढाउने काम मात्रै गरिएको बताइन् ।
उनले शिशु पनि मरेको निकालिएको बताइन् । ‘बच्चा नर्मल छ भनेर भनेका थिए, तर निकाल्दाखेरी न त बच्चा करायो न त रोयो, बच्चा मरेको निस्कीएको थियो’, उनले भनिन्, ‘बच्चा नरोएपछि नर्सहरुले बच्चालाई अक्सिजन समेत लगाएका थिए ।’
प्रतिक्रिया