सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउनेको संख्या न्यून

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने संख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको संख्या आधा कम हो ।

प्रदेशका ९ वटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने संख्या १० लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८ जनाले पूर्ण र एक लाख ९९ हजार ८ सय ५७ जनाले बुस्टर डोज लगाएको निर्देशनालयले जनाएका छन् ।

यस्तै बैतडीमा दुई लाख ११ हजार छ सय ५२ जनाले पूर्ण तथा ९८ हजार दुई सय १३ बुस्टर डोज, अछाममा एक लाख ८३ हजार ६ सय दुई जनाले पूर्ण तथा ८८ हजार आठ सय ५२ जनाले बुस्टर डोज, डोटीमा एक लाख ६१ हजार एक सय ३८ जनाले पूर्ण तथा ६३ हजार ५ सय १४ जनाले बुस्टर डोज, बझाङमा एक लाख ३७ हजार ६ सय ११ पूर्ण तथा ३२ हजार एक सय १७ जनाले बुस्टर डोज, डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ जनाले पूर्ण तथा ६७ हजार ५ सय ८४ बुस्टर डोज, बाजुरामा एक लाख २५ हजार चार सय ६८ जनाले पूर्ण तथा २९ हजार आठ सय ९ जनाले बुस्टर डोज तथा दार्चुलामा एक लाख १४ हजार छ सय २८ जनाले पूर्ण तथा ४८ हजार ९ सय ३ जनाले बुस्टर डोज लगाएका छन् ।

प्रदेशभरि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको संख्या भने २९ हजार ८ सय ५६ मात्रै रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको संख्या न्यून भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए । उनले भने, ‘रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच अझै छ ।’

प्रदेशमा खोप कम मात्रामा आएकाले यो समस्या देखिएको जोशीको भनाइ छ । उनले भने, ‘खोप बढी मात्रामा आयो भने सबैलाई लगाउँछौँ ।’ प्रदेशमा हाल कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ ।

पचपन्न वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको छ । उनीहरुका लागि ८९ हजार डोज खोज उपलब्ध रहेको जोशीले बताए ।

सुदूरपश्चिममा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरु गरिएको थियो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण अधिकांश भारतबाट फर्किएकामा रहेकाले जोखिम बढेको छ ।

सीमानाकामा हेल्थ डेस्क स्थापनाका साथै अनिवार्य कोरोना परीक्षण गराउने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । प्रदेशसमा हालसम्म ६ लाख ४७ हजार ७ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ ।

हालसम्म ६१ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा हालसम्म ६ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया