काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
आज लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।
यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।
लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।
साथै, तनहुँ–१ र बारा– २ मा पनि आगामी वैशाख १० गते नैउपनिर्वाचन हुँदैछ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन– २ बाट निर्वाचित सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।
प्रतिक्रिया