पूर्वराजाको अभियानलाई राप्रपाको साथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूले झापा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेटवार्ता गरेका छन् । भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनः स्थापनाको विषयमा छलफल भएको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशमशेर राणा पूर्वराजालाई भेट्न झापा पुगेका थिए । पूर्वराजाकै प्रस्तावमा यो भेटघाट भएको बुझिएको छ ।

राप्रपाका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले भेटवार्ताका क्रममा पूर्वराजाबाट देशको अवस्थाबारे चिन्ता प्रकट भएको बताए । ‘अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो,’ डा. लोहनीले भने ।

सबै राजनीतिक शक्तिहरूले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे । डा. लोहनीले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको विषयमा पनि छलफल भएको बताए । ‘मुख्य एजेन्डा यही नै थियो । उहाँबाट समग्र राजनीतिक विश्लेषण भयो, तर कसरी जाने भन्नेचाहिँ राजनीतिक दलहरूले निर्णय गर्ने विषय हो भन्ने धारणा व्यक्त गर्नुभयो,’ उनले भने ।

पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा छन् । केही दिनअघि उनी त्यतैबाट भारत भ्रमणमा गएर फर्किएका हुन् । उनी झापामा नै राजनीतिक भेटघाटहरू गरिरहेका छन् । स्रोतका अनुसार बुधबारको भेटको बारे पूर्वराजाले राप्रपाका अध्यक्ष अन्तिम समयामा आएर खबर गरेका थिए । लिङ्देन केही दिनदेखि आफनै गृह जिल्ला झापामा नै थिए ।

त्यसैगरी पार्टीका अर्का नेता धवलशमशेर राणासँग पूर्व राजाले यसअघि नै अलग्गै गोप्य परामर्श गरेका थिए । सो परामर्शअनुसार नै राप्रपा अध्यक्ष लिङ्देनलाई मंगलबार साँझ मात्र पूर्व राजाको सचिवालयबाट बुधबार लन्च गर्ने निम्तो गएको थियो । त्यसैगरी भेटमा राप्रपाका अर्का नेता डा.प्रकाशचन्द्र लोहनीलाई पनि बोलाइएको थियो । उनी पनि पूर्व राजालाई भेट्न काठमाडौंबाट झापा पुगेका थिए ।

त्यसैगरी अर्का नेता रविन्द्र मिश्र पनि झापा पुगेका थिए । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हिन्दूराष्ट्र र संवैधानिक राजाका विषयमा अभियान चलाउन राप्रपाका नेताहरूसँग परामर्श सुरु गर्न भेटघाट गरेको बताइएको छ । यस्तो अभियान सञ्चालन गर्ने विषयमा पूर्वराजाको हैसियतमा राष्ट्रिय पार्टीका नेताहरूसँग सामूहिक छलफल गरेको यो पहिलो भएको बताइएको छ ।

देशको स्थिति राम्रो छैन, शान्ति स्थायित्व र स्थिरताका लागि देशमा एउटा सशक्त अभियानको जरुरी परेको महसुस भएको छ, तपाईंहरू के सोेच्दै हुनुहुन्छ ? पूर्वराजाको भनाइ उदृत गर्दै स्रोतले भन्यो । भेटमा राजाले निकट भविष्यमा यसका लागि अभियान सञ्चालन हुने र त्यसमा राप्रपाले के कसरी सहयोग गर्न सक्छ भनेरसमेत अर्को प्रश्न गरेका थिए ।

तर, पूर्वराजाले त्यो अभियान कसरी सञ्चालन हुन्छ, त्यसको स्वरूप के हो ? भन्नेबारेमा केही नखुलाएको बताइएको छ । नेताहरूसँगको छलफलमा दुर्गा प्रसाईले सञ्चालन गरेको अभियानका विषयमा समेत कुराकानी भएको थियो । त्यसमा पूर्वराजाको भनाइ उदृत गर्र्दै स्रोतले भन्यो, ‘त्यसलाई आफ्नै तरिकाले सञ्चालन हुन दिनुस, तर हामी त्यसमा मिसिँदैनौ, अलगै अभियान सञ्चालनको आवश्यकता छ ।’

राप्रपाका नेताहरूसँगको भेटमा पूर्वराजाले सरकारबाट फिर्ता आएकोमा पार्टीप्रति खुसी प्रकट गरेका थिए । उनले राप्रपालाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको थियो, त्यसैले सरकारमा जाँदा त्यो विपरीत भयो कि भन्ने आफूलाई लागेको भए पनि पछि सरकारबाट फिर्ता भएकोमा खुसी लागेको बताएका थिए ।

यसअघि दुर्गा प्रसाईले सुरु गरेको अभियानमा पूर्व राजाको परिवार नै झापामा अतिथिका रूपमा सहभागी भएका थिए । १ फागुनमा व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका थिए । झापास्थित मेची पुलमा आयोजित सभामा पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवसायी प्रसाईको महाअभियानको उद्घाटन गरेका थिए । सभामा पूर्वराजपरिवारका अन्य सदस्य पनि पुगेका थिए ।

पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत सभामा सहभागी भएका थिए । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्ता दिएकोमा अर्कै कार्यक्रम परेर उनी सहभागी नभएको जानकारी प्रसाईले दिएका थिए । उनले आफ्नै नेतृत्वमा घोषणा गरेको महत्वाकांक्षी अर्धराजनीतिक अभियानले उनलाई भात खाने पनि फुर्सद नहुने गरी व्यस्त बनाएको बताएका थिए ।

तर सुरुआतमा यो अभियानले जति चर्चा बटुलेको थियो पछि त्यति नै गुमनाम बन्दै आएको छ । अहिले सो अभियान कहाँ पुग्यो ? के हुँदै छ भन्नेसमेत जानकारी छैन । कुनै समय ‘मार्सी प्रसाई’ भनेर सामाजिक सञ्जालमा दुत्कार खेपेका यी टाइकुनलाई पछिल्ला दिनमा यही सामाजिक सञ्जालले ‘हिरो’ बनाइरहेको थियो ।

युट्युब च्यानलहरूमा उनका अन्तर्वार्ता हेरेर मानिसहरू स्वाद मानिरहन्थे विगतको नकारात्मक छवि निर्माण भएर ‘लोकप्रिय सामाजिक अभियन्ता’ को रूपमा चिनिन थालेका उनको प्रयास थियो यो, अभियान । यही लोकप्रियताको बलमा प्रसाईले ‘महाभियान’ घोषणा गरेका थिए ।

दुर्गा प्रसाईंको महाअभियान आखिर हो के ? यसलाई राजतन्त्र फर्काउने आन्दोलनको पूर्वाभ्यासका रूपमा बुझेर राजावादीहरू अहिले पनि मख्ख छन् । अभियान घोषणाअघि प्रसाईले पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारसलाई तारन्तार भेटेका थिए ।

आफ्ना अन्तर्वार्ताहरूमा उनी गणतान्त्रिक व्यवस्थाप्रति दिक्दारी पोखिरहेका हुन्थे । त्यसैले उनको महाअभियान गणतन्त्रलाई उल्टाएर राजतन्त्र फर्काउने उद्देश्य प्रेरित हो कि भन्ने अनुमान गरिएको थियो । ‘यदि जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिएर राजतन्त्र फर्किंदैन भन्ने छैन,’ अभियानका सञ्चालक प्रसाईको भनाइ थियो । तर बुधबार राप्रपाका नेताहरूसँग भएको भेटमा प्रसाईको अभियान बारे पूर्वराजाले बुझै झैँ गरी मुन्टो हल्लाइरहे ।

‘त्यो अभियान आफ्नै ठाउँमा छोडिदिनुस्, चलिरहन्छ हामी छिट्टै नयाँ अभियान सञ्चालन गर्र्छौं’, पूर्वराजा ज्ञानेन्द्रको भनाइ उदृत गर्दै स्रोतले भन्यो । राजनीतिक दलहरूबीच बेमेल बढ्दै जानु र पूर्वराजाको नाममा विभिन्न आवरणमा अभियान सञ्चालन हुनु राम्रो विषय नभएको राजनीतिक विश्लेषकहरू बताउँछन् । झापामा मात्र होइन अन्य स्थानबाटसमेत गणतन्त्रको विरुद्ध अभियान सञ्चालन हुन थालेको छ ।

‘अहिले नेपालको बिग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो’, डा. लोहनीले भने । सबै राजनीतिक शक्तिहरूले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे । डा. लोहनीले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको विषयमा पनि छलफल भएको बताए । ‘मुख्य एजेन्डा यही नै थियो । उहाँबाट समग्र राजनीतिक विश्लेषण भयो, तर कसरी जाने भन्नेचाहिँ राजनीतिक दलहरूले निर्णय गर्ने विषय हो भन्ने धारणा व्यक्त गर्नुभयो,’ उनले भने ।

संसद्मा समेत यस प्रकारको आवाजहरू उठ्ने गरेका छन् । तिनको प्रतिवादसमेत हुने गरेको छ । केही दिनअघिको संसद् बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राजतन्त्रको पक्षमा वकालत गरेको भन्र्दै माओवादीका केही नेताहरूले आक्रोश पोखेका छन् ।

शाहीले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि माओवादी जनयुद्धलाई आपराधिक युद्धको संज्ञा दिएका थिए । खासगरी अहिले प्रचण्डनिकट नेताहरू शाही र उनी आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध खनिएका हुन् । उनीहरूले समाजिक संजालमार्फत यस्तो चेतावनी दिएका हुन् ।

माओवादी नेता हिमाल शर्माले शाहीलाई सम्हालिएर बोल्न भन्दै घुमाउरो भाषामा चेतावनी दिएका छन् ।
शाहीलाई शर्माले दरबार हत्याकाण्डका अभियुक्तलाई राजा घोषणा गर्दा मानव अधिकार रक्षा भए नभएको प्रश्न गरेका छन् ।

‘ज्ञानेन्द्र शाही भाइ तपाईं धेरै नकुर्लेकै राम्रो ! दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले गरायो भन्छौ होइन र ? अनि तिनै हत्यारा भनिएका दीपेन्द्रलाई मृत्यु शैयाबाट किन राजा घोषणा गरेको त ? एकपटक सोध्नु त तपाईंको आदर्शलाई,’ उनले भनेका छन् ।

शर्माले यो प्रकरणलाई राजतन्त्रात्मक व्यवस्थाको भद्दा मजाक भनेका छन् । उनले राजाको शासनमा जतिसुकै ठूलो अपराध गरे पनि राजदरबारका सदस्यलाई उन्मुक्ति दिएर कानुनभन्दा माथि राख्ने गरिएको प्रसंग पनि झिकेका छन् । २ सय ४० वर्षे राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न थुप्रै काण्ड गराइएको पनि उनले बताएका छन् ।

‘अहिले ठूला कुरा गर्नुको अर्थ हुँदैन । इतिहास पढेको सबैलाई थाहा छ, २ सय ४० वर्ष राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न कति कति काण्ड घटे !’, उनले भनेका छन्, ‘आज जनताका छोराछोरी जोसुकै होस् राष्ट्रपति बन्न पाउने अधिकार पाएका छौँ ! यो उपलब्धिको सम्मान गरौँ ! सम्यम भएर बोलौँ !’ शाहीविरुद्ध प्रचण्डका अर्का निकट नेता रामप्रसाद सापकोटा दीपशिखा पनि खनिएका छन् ।

माओवादीका अर्का युवा वाइसिएलका पूर्वअध्यक्ष दीपशिखाले शाहीलाई अराजक नहुन चेतावनी नै दिएका छन् । गणतन्त्रकै कारण शाहीले संसद्मा बोल्न पाएको भन्दै जथाभावी नबोल्न उनले चेतावनी दिएका हुन् । ‘सदनमा प्रधानमन्त्रीका अगाडि तिमी अन्टसन्ट चिच्याइरहेका छौ नि ! यो तिमीले भगवान् मानेका राजाले दिएको अधिकार होइन, छातीमा गोली थापेर लडी ल्याएको अधिकार हो,’ उनले भनेका छन् ।

त्यसबेला बोल्दा राजाले गोली हान्न आदेश नै दिएको प्रशंग पनि उनले निकाले । ‘तिम्रा राजाले त बोलेवापत गोली ठोक्थे । हामीले लडी ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिस्पर्धा गर्न पाउँछन् ! यसका लागि रत्तिभर योगदान नभएका तिमीहरूले इमान छ भने लाज मानी–मानी बोल्नुपर्छ,’ उनले भने ।
सापकोटाले शाहीलाई मानवअधिकारका चर्का कुरा नगर्न पनि चेतावनी दिएका छन् । ‘कुन मानवअधिकारको कुरा गरेको ? नमिता, सुमिता कि वीरेन्द्रको वंशनाशको ?’, उनले भनेका छन्, ‘कि मैना सुनुवारको ? हुती छ ।’

प्रतिक्रिया