लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमकान्त पौडेल नियुक्त

देउखुरी । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीले उनलाई सो पदमा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार मानिने मुख्य न्यायधिवक्ताले संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अन्य अधिकारीलाई रायसल्लाह दिनुपर्ने हुन्छ ।

मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी निवासी मुख्य न्यायाधिवक्ता पौडेल यसअघि लुम्बिनी प्रदेश सरकारका कानून आयोगको सदस्य र कानून कार्यदल सदस्यको जिम्मेवारीमा थिए ।

अन्तर्राष्ट्रिय मानवअधिकार कानून र समाजशास्त्र विषयमा स्नात्तकोत्तर गरेका उनले विगत २३ वर्षदेखि कानून व्यवसायीको रुपमा काम गर्नाका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा समाजसास्त्र विषय प्रध्यापन पनि गर्दै आएका थिए ।

प्रतिक्रिया