पौडेलका दुई कृति सार्वजनिक

काठमाडौं । समालोचक प्रा.डा. गोपिन्द्र पौडलद्वारा लिखित दुई समालोचना कृति ‘कथा परिशीलन’ र ‘स्रष्टा, समीक्षा र संस्कृति’ बजारमा आएका छन् । अखिल नेपाल लेखक संघद्वारा पुतलीसडकस्थित पद्मोदय माविमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सौन्दर्यचिन्तक निनु चापागाईसहितका अतिथिले संयुक्त रुपमा ती कृतिको विमोचन गरे । लेखकका नाती बालक सक्षम पौडेलले अतिथिलाई स्वागत गरेको सो कार्यक्रममा प्रमुख अतिथि चापागाईंले लेखकलाई शुभकामना व्यक्त गर्दै कृतिका सवल पक्षको प्रशंसा गरे । उनले रचनामा जनयुद्धलाई एकांकी ढंगले हेरिएको र केही सीमा रहेको बताए ।

समालोचक वन्दना ढकालले पौडेलको जीवनी, विषय प्रसंग र लेखक सन्दर्भ प्रस्तुत गरेकी थिइन् । समीक्षक पुरुषोत्तम रिजालले समालोचना संग्रह ‘कथा परिशीलन’ को टिप्पणी गर्दै कृतिमा १२ वटा अनुसन्धानमूलक समालोचना रहेको बताए । उनले पुस्तक उपयोगी स्रोत सामग्रीको रुपमा रहेको र आमपाठक तथा स्रष्टालाई अभिप्रेरित गर्ने खालको भएको विचार व्यक्त गरे । रिजालले एक रचनामा विश्वेश्वरप्रसाद कोइरालाका कथालाई माक्र्सवादी दृष्टिकोणबाट हेरिएकोले यो फरक र रोचक विषय रहेको जिकिर गरे । उनले भने, ‘जनयुद्धकालीन कथाकलालाई संक्षेपमा मात्रै प्रस्तुत गरिएकाले त्यसको विस्तृत विषय आमपाठकले पढ्न चाहेका छन् ।’

अर्को समालोचना कृति ‘स्रष्टा, समीक्षा र संस्कृति’ माथि समीक्षा गर्दै डा. साधना पन्तले शीर्षकमा जस्तै तीनवटा विषयवस्तु समेटिएको बताइन् । उनले पहिलो खण्डमा खुसीराम पाख्रिनसहितका पाँच स्रष्टाको बारेमा समालोचना गरिएको जनाइन् । उनले अर्को खण्डमा पाँचवटा समीक्षा समावेश गरिएको र त्यसमा संस्मरणलाई छुट्टै विधाको रुपमा मानिनुपर्ने दाबी गरिएको उल्लेख गरिन् । कृतिको तेस्रो खण्डमा संस्कृति, जनसंस्कृति र सांस्कृतिक रुपान्तरणको विषय समेटिएको बताउँदै उनले समालोचक प्रा.डा. पौडेल विद्वता र शालिनताको संगम भएको जिकिर गरिन् ।

सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य–सचिव प्रा. जगतप्रसाद उपाध्यायले समालोचक पौडेल विचारमा दृढता र कार्यनीतिमा लचकता भएको मान्छे भएको भनाइ व्यक्त गरे । उनले स्रष्टालाई आफूले पहिलेदेखि चिनेको प्रसंग कोट्याउँदै उनी आलोचनात्मक प्रगतिशील लेखक भएको जिकिर गरे । उनले लेखनको धार समाजवादी यथार्थवाद भएको उल्लेख गर्दै जीवन र जगतलाई वस्तुवादी ढंगले हेरिएको बताए ।

कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) का अध्यक्ष डा. मधुसूदन गिरी, माक्र्सवादी संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवाली, प्रा.डा. जीवेन्द्रदेव गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा तेजविलास अधिकारीले धन्यवाद ज्ञापन, प्रा.डा. गोपीन्द्र पौडेलले लेखकीय मन्तव्य र डा. धनप्रसाद सुवेदीले समापन मन्तव्य राखेका थिए ।

प्रतिक्रिया