मन्त्रालयकाे जिम्मेवारी विषयमा मुख्यमन्त्रीले विश्वासघात गरे : मन्त्री कुशवाहा

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले आफूले पाउने मन्त्रालयको टुंगो लागे पनि विश्वासघातको रुपमा मुख्यमन्त्रीबाट काम भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार जनकपुरधाममा कृषि मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री कुशवाहाले मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा नै दलहरुको संयुक्त छलफलबाट तीनै जना विनाविभागीय मन्त्रीलाई मन्त्रालय बाँडफाँड गरिसकेर त्यसको तयारीमा रहेको अवस्थामा मन्त्रालयको विषयमा मुख्यमन्त्रीको औपचारिक पत्रमा अलग मन्त्रालयको जिम्मेवारी आउनु दुर्भाग्य रहेको बताए ।

उनले भने, ‘छलफलबाट आफूले समाजीक विकास मन्त्रालय पाउने सहमति भएको र सोहीअनुरुप त्यसको अध्यन र भावी रणनीतिका लागि तयारी पनि गरिसकेको अवस्थामा दुई सातापछि आफूलाई अलग्गै मन्त्रालय दिइएको छ ।’ हुनतः आफ्नो दलले कृषि मन्त्रालय पनि मागेको हुनाले आफूले यो मन्त्रालय पनि सहर्ष स्वीकार गरेको उनले बताए ।

आफूहरुको समाजीक विकास मन्त्रालयप्रतिको दाबी अहिले पनि जारी नै रहेको र नदिएको खण्डमा सरकारमा रहने या नरहने कुरा पार्टीले छलफल गर्ने चेतावनी पनि उनले दिए ।

मन्त्री कुशवाहाले किसानहरुको हितका लागि आफनो पार्टीले विगतमा आन्दोलन पनि गरेको र अहिले पनि जारी रहेको अवस्थामा आफ्नो पहिले प्राथमिकता ती बुँदाहरुलाई कार्यान्वयन गर्नु रहेको बताए । किसान आन्दोलनमा उठान गरिएका मुद्दाहरुलाई अक्षरस पालना गर्न र गराउनका लागि संघीय मन्त्रालयसँग पनि कुराकानी गरी कार्यान्वयन गराएर छाड्ने उनले प्रतिवद्धता जनाए ।

उनले भने, ‘आफू काम गर्ने व्यक्ति हो, हुन सक्छ कार्यालय समयमा आफूले कसैको फोन पनि उठाउन नसकिएला, तर जनतालाई आफू र आफ्नो पार्टीले गरेको प्रतिशद्धता पुरा गराउन आफू हरदम तयार रहनेछु ।’ मन्त्री कुशवाहाले वीरगञ्जमा व्यापक मल रहेको कुरा आफूलाई थाहा भएको र सो मल प्रदेशभरिका किसानलाई उपलव्ध गराउनका लागि पहल सुरु गरेको बताए ।

मन्त्री कुशवाहाले शुक्रबार मन्त्रालयको पदभार ग्रहण गर्दै तुरन्तै मन्त्रालयका कर्मचारीसँग छलफल गरी आफ्नो पहिलो कार्य किसानलाई मल उपलब्ध गराउनु प्राथमिकता रहने बताए ।

मुख्यमन्त्री सरोजकुमार यादवसँगै विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका मन्त्री कुशवाहाले यसभन्दा पहिले समाजीक विकास मन्त्रालय पाउने पक्कापक्की भएको थियो । सोही अनुसार उनी मन्त्रालय अन्तरगतको क्वाटर पनि प्रयोग गर्न थालेका थिए भने मन्त्रालयका जिम्मेवारीको विषयमा अध्ययन र छलफल समेत थालिसकेका थिए ।

प्रतिक्रिया