पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विकास निर्माणदेखि व्यापार, व्यवसाय र उद्यम सम्मका सम्पूर्ण क्षेत्र चौपट हुने स्थितिमा रहेको बताएका छन् । पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको बुधबार उद्घाटन गर्दै नेपालको पछिल्लो परिवेश भयानक हुँदै गएको बताएका हुन् ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पर्वत पुगेका मन्त्री गिरीले बुधबार सो कार्यक्रममा मंगलबार बानेश्वरस्थित संसद् भवन अगाडि आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको विषयलाई उठाउँदै आत्महत्या गर्ने काम राम्रो होइन तर अहिले यस खबरले सामाजिक संजाल तताइरहेको छ । मन्त्री गिरीले भने, ‘आचार्यको त्यो निर्णय राम्रो मान्न सकिन्न तर आज अवस्था त्यस्तै छ । अर्थतन्त्र जरजर भएको छ । बैंकमा गयो बैंकले लगानी गर्दैन, तरलताको अभाव छ । ७÷८ प्रतिशत ब्याजमा लिएको ऋण आज १७ प्रतिशतसम्म पुगेको छ । समयमा ऋण तिर्न नसक्दा व्यापारीहरू हतोत्साहित हुँदै जाने स्थिति आएको छ ।’
पर्वतबाट दोस्रोपटक संघीय चुनाव जितेर पहिलोपटक मन्त्री बनेका हुन् । गिरीले अहिलेको अवस्थामा सबैभन्दा धेरै खुसी कुनै पनि व्यापार व्यवसाय नगरी बसेको मानिस रहेको बताएका छन् । गिरी भन्छन्, ‘केही गर्छु भनेका मान्छेहरूको अवस्था कहालीलाग्दो रहेको छ । यसका लागि कसलाई दोष दिने विगतमा कस्ता कस्ता हामीहरू सरकारमा थियौँ सबैलाई थाहा छ नी । खुसीको कुरा अहिले हामी सरकारमा आएपछि सेयरबजारमा हरियाली छायो भनेर पत्रपत्रिकामा पढ्न पाउँदा गर्व लाग्छ ।’ भिरबाट खसेका व्यापारीहरूलाई डोरी दिएर तान्नुपर्नेछ । तल खस्यो गइहाल्यो भनेर चुप लागेर बस्ने स्थितिमा हामी नरहेको गिरीले बताएका छन् । अहिलेको सरकार विकासका लहर ल्याउने, अठोट र प्रतिबद्धतासहित बनेको गिरीको भनाइ छ ।
चुनाव अगाडि जस्ता भाषण पनि हुन्छन् । चुनाव पछाडि बोलेका मानिस साँचो र हिम्मतका साथ बोलेको भन्नुपर्छ । गिरीले भने, ‘लेखेर राख्नुस्, रेकर्ड गर्नुस्, युटुबमा हाल्नुस् आउने पाँच वर्षभित्र पर्वतका एउटा वडा पनि कालोपत्रेले छुुन बाँकी रहेछ भने पदम गिरीको अगाडि आएर प्रश्न गर्नुहोला ।’
पर्वत जिल्लाका सात वटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स हुने मन्त्री गिरीको भनाइ छ । कोही मानिस पनि स्वास्थ्यउपचार नपाएर मर्ने स्थितिको अन्त्य गर्ने गिरीले बताएका छन् । माघ ११ देखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रदेश सांसददेखि जिल्लाका विभिन्न संघसस्था र व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया