काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई उपत्यका बाहिरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । उनी हिसान मिटका लागि विराटनगर आएको बेला सोमबार बिहान विराटनगरको भिन्तुना होटलबाट प्रहरीले पक्राउ गरेको हो । आलमलाई कान्तिपुर कलेजले प्रशिक्षकका रूपमा हिसान मिटमा सहभागी हुन विराटनगर बोलाएको थियो । आलमले सन् २००८ मा मोजाम्बिकविरुद्ध ७ दशमलव ५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिँदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।
अन्सारीले भने गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले नेपालबाट ६ ओडिआई र आठ टी–२० आई खेल खेलेका छन् । अन्सारी आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । उनलाई नेपाली क्रिकेट टोलीका भविष्यको रूपमा हेरिँदै आएको थियो । उनले जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका थिए ।
पक्राउ परेका आलम र अन्सारीले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहुवालियाको योजनाअनुसार स्पट फिक्सिङमा सहयोग गरेको आरोप प्रहरीको छ ।
सिआइबीका अनुसन्धान अधिकृतहरूका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरूसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । उनी टिममा भने आवद्ध नभएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको जानकारी सिआइबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तम सुवेदीले दिए । उनले भने, ‘सट्टेबाजी (बेटिङ) बाट असुली गर्ने उद्देश्यले यो प्रयास भएको थियो, तर हल्लाखल्ला भएपछि स्पट फिक्सिङ मात्रै सम्भव भएको देखियो । हामी अनुसन्धान गर्दैछौँ ।’
पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरूलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले यसको खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको थियो ।
पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले समेत फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएपछि सरकारले सिआइबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । सिआइबीले प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो । खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।
सिआइबीले केही क्रिकेटर र क्यानका पदाधिकारीसँग वयानसमेत लिएको थियो । स्रोतका अनुसार केही थप नेपाली क्रिकेटर पनि प्रकाउ पर्ने सम्भावना छ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरूविरुद्ध राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले स्पट फिक्सिङमा चार नेपाली र ६ विदेशी संलग्न भएको निष्कर्ष निकालेको छ । उनीहरूमध्ये महबुब आलम र आदिल अन्सारीसहित तीन जना पक्राउ परेका छन् । सीआइबीले पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐनअन्तर्गत कारबाही गर्ने भएको छ ।
मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलेमतो गरे राष्ट्रहित विरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐनमा भने नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ । कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसूर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप तीन वर्ष कैद हुने ऐनमा उल्लेख छ ।
प्रतिक्रिया