म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक राजन ढकालले मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी केसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

मंगला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ की ५० वर्षीया भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए ।

प्रतिक्रिया