बझाङ । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बझाङले आज जिल्ला प्रशासन कार्यालय बझाङमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार एक कार्यक्रमकाबीच विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी प्रविन सि ले प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल समक्ष ज्ञापन पत्र बुझाएका हुन् । बझाङ जिल्लामा विकास निर्माणको क्षेत्रमा भईरहेको भ्रष्टाचार, आर्थिक अनियमितता र ढिलासुस्ती तत्काल अन्त्य गर्नुपर्ने । जिल्लाको मुख्य राजमार्ग सहित स्थानीयतहका सबै शाखा सडक खण्डमा उचित गाडीभाडा निश्चित गरी भाडादर कायम गरिनुपर्ने, मदिरा बेचबिखनको लाइसेन्स प्राप्त गरी विक्रीवितरण गर्ने व्यवसायीलाई टाइम कार्ड र नियम पालना अनिवार्य गर्नुपर्ने, बजारमा बढिरहेको कालोबजारी मुल्य वृद्धि, महंगी नियन्त्रण गर्न प्रशासनले उचित पहल गर्नुपर्ने र साइपाल गाउँपालिका लगायत अन्य दुर्गम क्षेत्रमा आवश्यक खाद्यान्न समयमै ढुवानी गर्न सम्बन्धित निकायलाई तत्काल ताकेता गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजिविकाको पक्षमा र सामाजिक विकृति, विसंगतिका विरुद्ध आम जनसमुदायलाई सचेत गराउँदै समाज रुपान्तरणको क्रान्तिकारी अभियान सञ्चालनको प्रक्रियामा जुटी रहँदा बझाङ जिल्ला भित्र विकास निर्माणको क्षेत्र बागथला देखि बुंगल नगरपालिका झापा सम्मको सडक कालोपत्रे, दुर्गाथली गाउँपालिका मौरी बगर बजार देखि चौधरी सम्मको सडक कालोपत्रेमा भैरहेको ढिलासुस्ती, जयपृथ्वी राजमार्ग सहित स्थानीय तहका ग्रामीण शाखा सडक खण्डमा सवारी धनिले मनोमानी भाडा असुल गरिरहेका र जिल्लाका सबै बजारमा कालो बजारी, मूल्यवृद्धि, विद्यालय क्षेत्र नजिक नियम विपरीत मदिरा विक्रीवितरण तथा सेवन भइरहेको र उक्त अनियंत्रित जाँडरक्सी सेवन तथा जुवातास जस्ता विकृति जन्य कुराहरूले समाजमा घरेलु हिंसा, महिला हिंसा लगायत विभिन्न अपराधीक घटनाहरु घटिरहेको हुँदा यस्ता विकृति मुलक नशालु पदार्थलाई नियन्त्रण तथा नियमन गरि नागरिकको शान्ति सुरक्षामा बिशेष ध्यान दिन माग गर्दछाैं ।’
कम्युनिषट पार्टी बझाङले जाँड, रक्सी, जुवातास जस्ता विकृति विसंगति नियन्त्रण अभियान संचालन गरिरहेकाले उक्त सामाजिक कार्यमा सहयोग गर्न ज्ञापनपत्रमार्फत अनुरोध गरिएको छ ।
बझाङ
प्रतिक्रिया