कालीकोट । पचालझरना गाउँपालिकाको पडेक्षामा गाउँपालिकालाई भवन हस्तान्तरण गरिएको छ । पचालझरना गाउँपालिकाको पालिका रहेको केन्द्रमा सामुदायिक सोलार जडित भवन निर्माण गरिएको छ ।
अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको कार्यन्वयन तथा हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा सञ्चालित क्याफ्स कर्णाली परियोजनाअन्तर्गत निर्माण गरिएको हो ।
हुरेन्डेक नेपाल कालीकोटका लेखा अधिकृत प्रेमबहादुर शाहीका अनुसार १ करोड २९ लाख ५० हजारको लागतमा निर्माण गरिएको भवन पालिकालाई बुझाइएको छ । भवनमा ४ वटा कोठा, सौचालय बाथरुमका साथै सभा हलको समेत व्यवस्था गरिएको क्याफ्स कर्णाली परियोजनाका ईन्जिनियर हरि सत्यालले जानकारी दिए ।
गरिबिको रेखामुनि रहेका अशक्त एकल महिलाहरुले यस भवनको व्यवस्थापन तथा रेखदेख गर्ने बताइएको छ । आर्थिक अवस्था कम रहेका महिलाहरुलाई आर्थिकको पहुँचमा ल्याउने उद्देश्यका साथ भवन निर्माण गरिएको हो । पालिकामा विभिन्न किसिमका तालिम कार्यक्रम सञ्चालन गर्न समस्या भइरहेको थियो ।
भवन बनेपछि समस्यामा कमी आउने पालिकाका अध्यक्ष देवराज शाहीले बताए । पालिकामा व्यवस्थित र नमुना भवन निर्माण गरिदिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता क्रियाकलापहरुमा पालिकाको तर्फबाट हुरेन्डेक नेपाल कालिकोटलाई सधैँ साथ दिने उपाध्यक्ष अल्किना बमले बताइन् ।
एकल महिलाहरुले कोशेली घर स्थापना, चमेना गृह, स्टेशनरी, कम्प्युटरसम्बन्धी व्यापार–व्यवसाय सञ्चालन गरी कोष सञ्चालन गर्न सक्ने हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । विश्व खाद्य कार्यक्रम नेपालका कार्यक्रम उपप्रमुख कृष्ण जोगीको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
कालिकाेट
प्रतिक्रिया