आइतबारदेखि इलाम–काठमाडौं उडान सुरु

इलाम । गत वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आइतबारदेखि पुनः उडान सुचारु भएको छ । उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो । एयरलाइन्सले हप्तामा एकपटक उडान गर्ने गरी सहमति गरै अनुरूप आइतबारबाट इलाम–काठमाडौं उडान भर्न सुरु गरेको हो । नेपाल एयरलाइन्स नाइन एल–एबीयु को विमानले सात जना यात्रु लिएर आइतबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको करिब एक घण्टामा इलाम अवतरण गरेको थियो । उक्त विमानले इलामबाट काठमाडौं फर्केर जाँदा आठ जना यात्रु लिएर गएको छ ।

नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं–इलाम र इलाम–काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले जनाएको छ ।
सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको नगरप्रमुख केदार थापाले जानकारी दिए । इलामबाट काठमाडौंका लागि बिहान साढे नौ बजे उडान हुने तालिका बनाइएको छ । १९ सिट क्षमताको ट्विनअटर जहाज सञ्चालन हुनेछ ।
इलाम नगरपालिकाका अनुसार इलामबाट काठमाडौंको एकतर्फी भाडा ६ हजार ३ सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि भने एकतर्फी भाडा ६ हजार ५ सय तोकिएको छ ।

तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ । त्यस्तै एक उडानमा दुई जना २५ वर्ष ननाघेका विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्रको आधारमा करबाहेकको रकममा २५ प्रतिशत भाडा छुट गरिएको छ । त्यसैगरी २ वर्षदेखि १२ वर्ष सम्मका सबै बालबालिकालाई जन्मदर्ताको भाडामा २५ प्रतिशत छुट गरिएको छ ।

यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तल्लाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । इलाम–काठमाडौं र काठमाडौं–इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्नेछ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले इलाम नगरपालिकासँगको सम्झौतामा व्यावसायिक उडान सुरु गरेको थियो । तर, ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रूपमा उडान बन्द गरेपछि विमानस्थल सुनसान थियो । इलाम नगरपालिकाको पहलमा पुनः उडान सुचारु गर्ने भएपछि जिल्लाबासीहरू हर्षित भएका छन् ।

यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । फाल्गुनन्द विमानस्थल निर्माणका २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ ।

०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया ०६८ सालबाट भएको थियो । २१ जेठ ०७५ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । करिब २८ करोड रुपैयाँ खर्चमा पक्की धावनमार्गसहितको विमानस्थल निर्माण गरिएको थियो । तर, अझै विमानस्थलमा तारबार, यात्रु प्रतिक्षालय र टावरको निर्माणसहित विमानस्थलसम्म पुग्ने पक्की सडक निर्माण गर्ने काम बाँकी नै रहेको छ ।

प्रतिक्रिया