नाबालिकाको रोकियो बालविवाह

कालिकोट । उमेर नपुगेरै विवाह गर्न खोज्दा रास्कोटमा एक जोडीलाई जनप्रतिनिधिले रोकेका छन् । बाजुरा घर भएकी १५ वर्षीया एक किशोरी र रास्कोट नगरपालिका– ४ निवासी २० वर्षीय किशोरबीच विवाह हुन लाग्दा वडा नम्बर ४ का वडाध्यक्ष दिनेश संज्याल र समाजसेवी गुरुराज संज्याल लगायत स्थानीयको पहलमा बालविवाह रोकिएको हो ।

गत पुस १९ गते बाजुरा जगन्नाथ गाउँपालिका निवासी १५ वर्षीया किशोरीलाई भगाएर रास्कोट ल्याएका थिए । उमेर नपुगी विवाह गर्नु कानूनी अपराध भएको भन्दै स्थानीय र जनप्रतिनिधिलाई जानकारी भएपछि आइतबार किशोरीलाई उनकै बुवाको जिम्मा लगाइएको धर्मदत्त फाउण्डेशनका अध्यक्ष तथा इन्जिनियर गुरुराज संज्यालले बताए ।

‘स्थानीय जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ’, समाजसेवी संज्यालले भने, ‘अहिले किशोरीको उमेर १५ वर्ष मात्र भयो, कानूनीरुपमा विवाह गर्न अझै ५ वर्ष बाँकी छ, ५ वर्षपछि यही जोडिले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने शर्तमा कागज बनाएर बालविवाह बदर गरेका छौँ ।’

अशिक्षा र अज्ञानताले पहिले–पहिले जे जस्ता अपराध भएपनि अब सामाजिक अपराध हुन नदिने वडाध्यक्ष दिनेश संज्यालले बताए ।

‘उमेर नपुगी हुने बालविवाह अझै पनि हाम्रो समाजमा भइरहेका छन्,’ उनले भने, ‘यस्तो अपराधको अन्त्य गर्न हामी सबैको दायित्व हो, १५ वर्षीया नाबालिकालाई आज घर फर्काएका छौँ, पढ्नेलेख्ने यस्तो कलिलो उमेरमा गर्ने विवाहले धेरैको शारिरिकरुपमा पनि कमजोर भएको पाइन्छ, आज किशोरीको नयाँ जीवन दिलाएको छौँ ।’

उमेर नपुगी विवाह गर्नेको संख्या डर लाग्दो अवस्था रहेको यहाँ अझै लुकिछिपी बालविवाह गरिरहेको पाइएको उनको भनाइ छ । पछिल्लो समय केही संघसंस्था र जनप्रतिनिधिको पहलमा बालविवाह रोकिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया