सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

Office of the Chief Minister of Sudur Pahchim Province. Photo: Tekendra Deuba/THT

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि यही २७ पुस बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सदस्यको आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

नेपालको संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था गरेको छ । धारा १६८ को उपधारा (१)मा प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र उपधारा (२)मा उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै उपधारा (३) मा प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै उपधारा (४)मा उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया