धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निवार्चित भएका छ्न् । दलको नेताका लागि शाहको एकल उम्मेदवारी परेपछि उनी दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् ।
संसदीय दलको नेताका आकांक्षीहरुको सहमति नहुँदा निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । बुधबार संसदीय दलको नेतामा सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।
सो समितिले दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो । आकांक्षीबीच मनोनयन दर्ता गर्ने समय सकिँदै गर्दा सर्वसम्मत चयन गर्ने सहमति भएको हो । कांग्रेस संसदीय दलको नेताका लागि सातजना आकांक्षी थिए ।
दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको र उनलाई सर्वसम्मत घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । शाह कैलाली २ (क) बाट प्रदेशसभा सदस्या निर्वाचित भएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९ सांसद छ्न् । माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीले भने यसअघि नै सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेका छ्न् । ।
कैलाली
प्रतिक्रिया