हेलिकोप्टरद्वारा ओसारिँदै अस्पतालको निर्माण सामग्री

बझाङ । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिकाको रूपमा चिनिने साइपाल गाउँपालिकामा अस्पतालको निर्माण सामग्री हेलिकोप्टरले ढुवानी गरेको छ । साइपाल गाउँपालिका–३ को लासीमा निर्माण भइरहेको १० शय्याको अस्पताल बनाउन आवश्यक निर्माण सामग्री (फलामको डन्डी, मसला बनाउन प्रयोग गरिने मेसिन) सिम्रिक एयरको हेलिकोप्टरले ओसारी रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

करिब २१ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको अस्पतालमा ५० प्रतिशत रकम गाउँपालिकाको लगानी रहेको छ भने ५० प्रतिशत रकम संघीय सरकारको लगानी रहेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । बोहराका अनुसार साइपालमा सडक सञ्जाल नपुगेका कारण हेलिकोप्टरबाट हामीले निर्माणका सम्पूर्ण सामग्री ढुवानी गर्नुपर्ने बाध्य भएको र अस्पताल निर्माणका लागि आवश्यक सामग्री मंगलबारसम्म सिम्रिक एयरले ३५ भन्दा बढी ट्रिप ढुवानी गरेको बताए । उक्त अस्पतालको भदौमा गाउँपालिका अध्यक्ष बोहराले नै शिलान्यास गरेका थिए । पालिकामै १० शय्याको अस्पताल निर्माण कार्य सुरु भएपछि स्थानीयहरू खुसी भएका छन् ।

प्रतिक्रिया