धनगढी र नेपालगञ्जका प्रशिक्षण स्थगित

काठमाडौं, ५ चैत । आन्तरिक संगठन सुदृढिकरणमा लागेको नेपाली कांग्रेसले सुदूरपश्चि र मध्यपश्चिमाञ्चलका आफ्ना प्रशिक्षण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

राष्ट्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले संगठन सदृढिकरणका लागि बिभिन्न जिल्लामा प्रशिक्षण गर्दै आएको छ । नेपालगञ्ज र धनगढीका प्रशिक्षण स्थगित गर्नुपर्ने कारणका बारेमा कांग्रेसले स्पष्ट केही बताएको छैन । अन्य स्थानका प्रशिक्षण भने स्थगित भएका छैनन् ।

कांग्रेसले धनगढीमा चैत ९ र १० गते तथा नेपालगञ्जमा चैतको १२ र १३ गते प्रशिक्षणको कार्यक्रम राखेको थियो । शान्ति र संविधानको जिम्मेवारी समयमा पुरा गर्नुपर्ने दबाव दिदै आएको कांग्रेसले प्रशिक्षण कार्यक्रमहरुमा राज्यपुनसंरचना र पार्टीले लिएको रणनीतिका बारेमा आफ्ना अगुवाकार्यकर्तालाई जानकारी गराउदै आएको छ ।

यद्यपी आमसभाका कार्यक्रमहरु भने पूर्व घोषित समय र स्थानमा हुने प्रतिष्ठानका सदस्य बलदेब शर्मा मजगैंयाले जानकारी दिए । कांग्रेसले चैतको १९ गतेदेखि २६ गते सम्म प्रमुख शहरहरुमा आमसभा गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
आमसभालाई सभापति सुशील कोइराला सहितका प्रमुख नेताहरुले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया