अर्जेन्टिना र नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

विश्वकप फुटबल—२०२२

दोहा । उपाधि दाबेदार मानिएको अर्जेन्टिना र नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अहमेद बिन अलि स्टेडियममा शनिबार राति खेलिएको खेलमा अस्ट्रेलियालाई २–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।
विश्वकपको इतिहासमा अभागी टोलीको रुपमा चिनारी बनाएको नेदरल्यान्ड्स भने अमेरिकालाई ३—१ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । अब यी दुईमध्ये एक राष्ट्र मात्र सेमिफाइनलमा पुग्नेछ । क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक÷एक गोलको योगदान गरेका थिए । अस्ट्रेलियाले भने एउटा आत्मघाती गोल उपहार पाएको थियो । खेलको ३५औं मिनेटमा स्टार खेलाडी मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
विश्वकपको नकआउट चरणमा मेसीको यो पहिलो गोल हो । मेसीको आफ्नो खेल जीवनमा गरेको यो एक हजारौं गोल पनि हो । मेसीको गोलका कारण खेलको पहिलो हाफमा अर्जेन्टिना १—० ले अगाडि बढेको थियो ।
त्यसपछि खेलको ५७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए । निर्धारित समयको ७७औं मिनेटमा ईन्जो फर्नान्डेजबाट आत्मघाती गोल भए पनि अर्जेन्टिना २–१ ले विजयी भयो ।

जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वार्टरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । नकटआउट चरणमा भोगेको पराजयसँगै अस्ट्रेलिया र अमेरिका भने उपाधि होडबाट बाहिरिएका छन् ।

यसअघि खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको प्रिक्वार्टरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो ।

विजयी टोली नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जल डुमफ्रिएसले एक÷एक गोल योगदान गरे । अमेरिकाका लागि भने एक मात्र गोल हाजी राइटले गरेका थिए । खेलको १०औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाएका थिए । सोही गोलका कारण पहिलो हाफमा नेदरल्यान्ड्स २—० गोलले अगाडि रह्यो । खेलको ७६औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २–१ को स्थितिमा ल्याए ।

खेलको ८१औं मिनेटमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ को सहज जित दिलाएका थिए । उक्त जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । नेदरल्यान्ड्स हालसम्म तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।
नेदरल्यान्ड्स सन् १९७४, सन् १९७८ र सन् २०१० को विश्वकपमा फाइनलसम्म पुगेको थियो । अर्जेन्टिनाले भने हालसम्म दुई पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा विश्वकपको उपाधि उचालेको थियो ।

यसका अतिरिक्त अर्जेन्टिना तीन पटक विश्वकपको फाइनलमा पुगेर पराजित भएको छ । अर्जेन्टिना सन् १९३० (पहिलो संस्करण), सन् १९९० र सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको थियो । अमेरिका भने सन् १९३० को विश्वकपमा तेस्रो भएको थियो ।

प्रतिक्रिया