काठमाडाैं । निर्वाचन आयोगले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ । शनिबार आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् । उनले भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न अपिल गरे । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने तयारी पूरा भइसकेको बताए ।
‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको प्रभावकारी अनुगमन आयोगले गरिररहेको र उल्लंघन भएको पाइएमा कारबाही हुने पनि बताए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमनको काम भइरहेको उनले बताए ।
प्रतिक्रिया