काठमाडौं । निर्वाचन आयोगले प्युठानबाट प्रतिनिधिसभामा उम्मेद्वार बनेका सूर्य थापालाई स्पष्टीकरण सोधेको छ । थापा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार हुन् । पैसा दिएर आफ्नो निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको विषयमा आयोगले थापासँग स्पष्टीकरण मागेको हो ।
सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई दुई हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको भन्ने विषयमा आयोगले एमाले उम्मेद्वार थापालाई स्पष्टीकरण सोधेको हो ।
‘निर्वाचन आचारसंहितामा उल्लिखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नुभएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?’ थापालाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।
आयोगले थापासँग स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र जवाफ माग गरेको छ । ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ,’ स्पष्टीकरणमा भनिएको छ । प्युठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भएका बुढाले केही दिनअघि आपूmलाई चुनाव प्रचारमा गएबापत थापाले दुई हजार रुपैयाँ दिएको बताएका थिए ।
निर्वाचन आचारसंहिता–२०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेद्वार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ भन्ने व्यवस्था छ ।
यसैगरी निर्वाचन (कसूर तथा सजाय) ऐन—२०७३ को दफा २१ को उपदफा (१) मा उम्मेद्वार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन नहुने व्यवस्था छ । चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले यसअघि पनि थापालाई स्पष्टीकरण सोधेको थियो ।
यसैगरी आयोगले सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई पनि स्पष्टीकरण सोधेको छ । मतदाता प्रभावित गर्ने गरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्ने सूचना आएपछि आयोगले शुक्रबार सिंहलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिताको दफा ७ को खण्ड (क) अनुसार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने व्यवस्था छ ।
सोही दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था छ । आयोगले सोही व्यवस्थाबमोजिम सिंहलाई स्पष्टीकरण सोधिएको जनाएको छ । आयोगले यसबारे मुख्य सचिवलाई समेत पत्र लेख्दै सहरी विकासमन्त्रीको दाङ भ्रमणबारे जानकारी माग गरेको छ ।
‘तपाईं के–कति कारणले दाङ जिल्लामा जानुभएको हो ? तपाईं नेपाल सरकारको सचिव रहेको व्यक्ति नियमानुसार बिदा वा काज स्वीकृत गरी दाङ जानुभएको हो, होइन ? तपाईंले दाङ जिल्लामा गई मतदातालाई प्रभावित गर्ने कार्य गर्नुभएको छैन भन्ने आधार प्रमाण के छ ? यदि तपाईंले मतदातालाई प्रभावित गर्ने कार्य गरेको हो भने उक्त कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल हुने र यदि तपाईं नियमानुसार बिदा वा काज स्वीकृत नगराई दाङ जानुभएको हो भने प्रचलित निजामति सेवासम्बन्धी कानुन प्रतिकूल हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) र दफा ४४ बमोजिम कारबाही हुनु नपर्ने कारण के छ ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहोला,’ आयोगले लेखेको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया