धनगढी । गत वर्षामा बाढी र पहिरोको कारण धनजनको क्षति बेहोरेको सुदूरपश्चिमले हिउँद लाग्दा नलाग्दै भूकम्पबाट पनि धनजनको क्षति खेप्नुपरेको छ । डोटीमा भूकम्पका कारण धनजनको क्षति भएको छ । जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्युटको भूकम्पले धनजनको क्षति पु¥याएको हो ।
भूकम्पका कारण घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ ठाडागाउँकी भगवतीदेवी बोहरा, निजकी १४ वर्षीया छोरी सीता बोहरा र निजकै आठ वर्षीय छोरा हर्क बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए ।
त्यसैगरी भूकम्पमा परी सोही ठाउँका ५० वर्षीय प्रेम बोहरा, निजकी छोरी तुलसी बोहरा र निजको घरमा बास बस्न आएकी धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भूकम्पमा परी सोही गाउँका आठ जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जना ४५ वर्षीया बिष्नादेवी बोहरा र ४६ वर्षीया चनादेवी बोहराको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरी घाइते चार जना ५० वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा र १५ वर्षीया भगुकुमारी बोहराको जिल्ला स्वास्थ्य कार्यालय डोटीमा उपचारपश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ । त्यस्तै सामान्य घाइते दुई जना ४२ वर्षीय केशरसिं बोहरा र जगुदेवी बोहराको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएको जनाइएको छ ।
भूकम्पबाट जिल्लाभरी मानवीय बाहेकको अन्य क्षति कति भएको छ भन्ने एथेष्ट विवरण भने अझै आउन नसकेको डिएसपी भट्टले बताए । उनले भने, ‘ठाडागाउँका आठ वटा घर पूर्ण क्षति भएका छन्, अन्य क्षेत्रमा घरहरू चर्किएको केही क्षति भएको भन्ने खबर आइरहेको भए पनि बास्तविक क्षतिको विवरण आएको छैन्, हामी विवरण संकलन गरिरहेका छौँ ।’
भूकम्पका कारण धेरै परिवार विस्थापित भएका छन् । घरहरू भत्किँदा, चर्किंदा घरमा बस्न नसक्ने अवस्था भएका कारण खुला ठाउँमा त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था आएको छ । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले विस्थापितलाई रेडक्रसले त्रिपाल ब्लांकेट लगायतका सामग्रीहरू वितरण गरेको बताए ।
‘अहिले विस्थापित भएका परिवारलाई रेडक्रसले त्रिपाल, ब्लांकेट लगायतका सामान ल्याएर दिनुभएको छ, खाने व्यवस्था गाउँपालिकाबाट हामी मिलाउँछौँ’, अध्यक्ष उपाध्यायले भने, ‘तत्कालका लागि त्रिपाल, लुगाकपडा बन्दोबस्त गरेर अस्थायी व्यवस्था मिलाउनुको विकल्प छैन, पछि गएर भत्केका संरचना बनाउनमा लाग्नुपर्ने हुन्छ ।’ सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस भए पनि अन्य जिल्लामा भने मानवीय क्षति भएको विवरण आएको छैन ।
भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । त्यसअघि पनि रातप् ९ः३७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटकपटक झट्का महसुुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।
यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराती २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासि भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना–५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताए ।
घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट डोटी अस्पताल पु¥याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकोप्टरले उनीहरूको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेन्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
भूकम्पका कारण पुराना घरहरू भत्किएका छन् । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटकपटक भूकम्पको धक्का महसुस भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।
यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राती धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । अछामको मंगलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिए । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाका मदनराज जोशीले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गएकाप्रति दुःख व्यक्त गर्दै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्यसैगरी गृहमन्त्री बालकृष्ण खाणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पु¥याई उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशनसमेत दिएका थिए ।
पूर्वमन्त्री आलेको सहयोग
पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातीको भूकम्पमा परी मृत्यु भएका ६ जनाको परिवारलाई १ लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।
बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरूका परिवारलाई जनही २५ हजारका दरले १ लाख ५० हजार राहत दिने बताएका हुन् । आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी दिए ।
डोटी निवासी पूर्वमन्त्री आले आसन्न मंसिर ४ को निर्वाचनमा सोही जिल्लाबाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार पनि छन् ।
२२ दिनमा ६ शक्तिशाली भूकम्प, दुई सय पराकम्प
पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो । यसैगरी गएराती डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा हालसम्म दुई सयपटक पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बुधबार दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए ।
कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५ दशमलव ९ रेक्टर स्केलको थियो । सोही दिन ३ बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मंगलबार राती नै तीनपटक भूकम्प गएको थियो ।
९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रविन्दु बनाएर गएको थियो भने ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो । त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे ।
कैलाली
प्रतिक्रिया