ओलीलाई प्रचण्डको प्रश्न– फेरि संविधान मिच्न बहुमत चाहियो ?

बैतडी । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि आगामी मंसिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् ।

बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो,’ उनले भने, ‘जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ, अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ, अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ ।’

अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गरे । उनले भने, ‘म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो, उतिबेलादेखि नै माओवादी र कांग्रेसबीच सहकार्य भएको हो ।’

उनले दुईतिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाए । उनले भने, ‘दुई पटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन्, फेरि किन बहुमत चाहिएको हो ? फेरि किन दिने संविधान मिच्न ? अधिकार कुन्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।’ उनले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताए ।

बैतडीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।

प्रतिक्रिया