झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् छ । बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए ।

पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताए ।

उनले भने, ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु, पश्चिमसेती परियोजना अघि बढेको छ, पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।’

उनले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । एक अर्को प्रसङ्गमा उनले विकासमा सन्तुलन कायम गर्न संघीयता आवश्यक रहेकोमा जोड दिए ।

बैतडीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।

प्रतिक्रिया