उदयपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश राई वाम लोकतान्त्रिक गठबन्धनको उम्मेद्वारका विरुद्धमा कांग्रेसका विद्रोही उम्मेद्वारलाई भोट माग्दै हिँडेका छन् । वाम लोकतान्त्रिक गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको उदयपुर–२ मा उम्मेद्वार बनेका सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाका विरुद्ध माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका राईले नेपाली कांग्रेसका रामकुमार राईलाई गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेद्वार बनाएको गठबन्धन भित्रका एक नेताले बताए । राईलाई स्वतन्त्र उम्मेद्वार बनाउनमा सुरेशको हात रहेको बताइएको छ ।
माओवादी नेता वर्षमान पुन निकट रहेका राईले गठबन्धनका मतदाता भड्काउँदै हिँडेको स्रोतले बतायो । राईले जिल्लामा आफू निकटकासँग आफू वर्षमानको नजिक भएकाले कसैले केही गर्न नसक्ने बताउने गरेको स्रोतको दावी छ । ‘वर्षमान कमरेड पावरमा छँदासम्म कसले के गर्न सक्छ हेरौला नि !’ उनले भन्ने गरेका छन् ।
पूर्व सांसद समेत रहेका राई गठबन्धनका उम्मेद्वारसँग सम्पर्कमा समेत छैनन् । उनको उक्त क्रियाकलापले काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेकी ओनसरी घर्तीलाई असर पर्न सक्ने देखिएको छ । उता वर्षमानको आडमा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका समाजवादीका उपमहासचिवका विरुद्धमा हिँडेको पत्तो पाएका काठमाडौं–२ का समाजावादी कार्यकर्ता रुष्ट देखिएका छन् ।
‘उता श्रीमानको शक्तिका आडमा हाम्रो नेताका विरुद्ध लाग्ने यता हामी उनैको श्रीमती जिताउन ज्यान दिएर लाग्ने कसरी मेल खान्छ ?’ काठमाडौं–२ मा मतदाता रहेका समाजवादीका कार्यकर्ताले भने । सुरेसले उदयपुरमा गरेका क्रियाकलापको असर काठमाडौं–२ मा नपर्ला भन्न सकिन्न ।
यो विषयमा नेकपा (एकीकृत समाओवादी), माओवादी केन्द्र र नेपाली कांग्रेसको उच्च तहका नेतालाई समेत जानकारी हुँदासमेत समस्या समाधान गर्न कुनै पहल भएको छैन । निर्वाचन नजिकिँदै गर्दा उदयपुरमा राईको सक्रियता बढेको छ । उनी कुनै पनि नेता र उम्मेद्वारको सम्मर्क बाहिर रहेर मतदाता भेट्दै हिँडेका छन् । स्थानीय नेता र उम्मेद्वारको सम्पर्कमा नआएकाले पनि उनी प्रतिको शंकाले बल पुर्याएको छ ।
स्वतन्त्र उम्मेद्वार बनेका कांग्रेस नेता रामकुमार राईलाई भने नेपाली काग्रेसले कारबाही गरिसकेको छ । तर, सुरेश राईलाई भने माओवादीले कारबाही गरेको पनि छैन र निर्वाचनमा उम्मेद्वारका पक्षमा लाग्न निर्देशन गरेको छैन ।
प्रतिक्रिया