काठमाडौं । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल बिहीबार अचम्मको दृष्यामा थिए । उनी हातमा माला लिएर उभिएका थिए ।
त्यो माला अरु कसैलाई नभएर आफनै प्रतिस्पर्धी प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्नका लागि थियो। निर्वाचनमा एक आपसमा भिडन्त र ढुंगा हानाहानको स्थितिलाई चुनौती दिदै उनी आफ्नै प्रतिस्पर्धी देउवाको स्वागत गर्न लाईनमा थिए।
चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बसेका हुन् । ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताएका छन् । कतिसम्म भने उनले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गरेका छन् ।
पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका छन् । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन् ।
तर, देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिएका छन् ।
देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उनी २० कात्तिकमा काठमाडौं फर्कने छन् । देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया