इलाम । इलामको माङसेबुङ गाउँपालिका– २ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतको एकपछि अर्को कर्तुत सार्वजनिक भएको छ । उपभोक्ता समिति नै नबनाई एक योजनाको काम सञ्चालन गरेका बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न किर्ते माईन्युट खडा गरेको फेला परेको छ ।
पुरानै मितिको फर्जी भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेको पाईएको हो । ११ असोजमा पहिलो पटकको आम उपभोक्ताहरुको भेलाले समिति गठन गर्न नकसेपछि अर्को पटक भेला आयोजना गर्ने गरी भेला स्थगित भएको थियो ।
तर, वडाध्यक्ष बस्नेतले त्यसपछि कुनै पनि भेला आयोजना त गरेनन् नै, आफैं स्काभेटर व्यवस्थापन गरेर एक स्थानीयलाई काम गर्न लगाए । स्थानीयबासीबाट उपोभोक्ता समिति गठन नै नगरी काम सञ्चालन भएको गुनासो आएपछि सो सम्बन्धीको समाचार सोमबार सौर्य अनलाइन र मंगलबार सौर्य दैनिकमा प्रकाशन भएको थियो ।
सो समाचार प्रकाशन भएपछि वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न आम भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेका हुन् । वडाध्यक्ष बस्नेतले १३ असोजमा माङसेबुङ गाउँपालिका २ स्थित गाउँपालिका सभाहलमा आम भेला बोलाइएको माइन्युट खडा गरेका छन् ।
सो भेलाले उनै बस्नेतले काम गर्न जिम्मा दिएको एक स्थानीय कुशल इदिङ्गो लिम्बुलाई उपभोक्ता समितिको अध्यक्ष चयन गरेको माइन्युट खडा गरेका हुन् । जबकी उनै लिम्बुले सोमबार आफू अध्यक्षको दाबेदार भए पनि समिति भने गठन भइनसकेको बताइसकेका छन् ।
उनले वडाध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन पछि गर्ने भन्दै उनैले स्काभेटरको व्यवस्थापन गरी आफूलाई काम गर्ने जिम्मा मात्र दिएको यसअघि नै बताइसकेका छन् । वडाध्यक्ष बस्नेतले पनि उपभोक्ता समितिका अध्यक्ष पदमा धेरै जनाको आकांक्षा भएकाले सहमति नभएपछि समिति पछि गठन गर्ने गरी काम थालिएको वडा अध्यक्ष बस्नेतले यसअघि नै बताइसकेका छन् ।
तर, उनले आफ्नै भनाई विपरित रातारात किर्ते माइन्युट खडा गरेका हुन् । यसरी किर्ते गरी तयार गरिएको माइन्युट वडा कार्यालयबाटै प्राप्त भएको छ । यस सम्बन्धी बुझ्न वडाध्यक्ष बस्नेतलाई ९८६२७४८००८ मा टेलिफोन सम्पर्क गर्दा फोन उठेन ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धी कार्य संचालनका लागि ‘माङसेबुङ गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ ९ बैशाख २०७५ को कार्यपालिका बैठकले स्वीकृत गरि लागू गरेको छ ।
उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ को परिच्छेद २ दफा ४ उपदफा १ (क) मा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकत सहभागितामा सम्बन्धित आयोजनास्थलमा ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ ।
वडाध्यक्ष बस्नेतले स्थानीय कुशल इदिङ्गो लिम्बुलाई एक्साभेटर उपलब्ध गराएर सडक सरसफाईको काम गर्ने गरी जिम्मेवारी दिएका हुन् । औपचारिक रुपमा समिति गठन नभए पनि पछि मिलाम्ला भन्दै इदिङ्गोलाई काम गर्ने दिम्मा दिएका हुन् । वडा नम्बर २ को ‘वडास्तरीय सडक मर्मत’ का लागि उपभोक्ता समिति गठन नगरी सिधै काम गर्न थालिएको थियो ।
२ नम्बर वडाका विभिन्न सडकहरु मर्मतका लागि चालू आर्थिक वर्ष २०७९र०८० का लागि वडा सिलिङतर्फको सात लाख रुपैयाँको योजनाको काम उपभोक्ता समिति गठन नै नगरी वडा अध्यक्षको ठाडो आदेशमा काम थालिएको थियो । वडाध्यक्ष बस्नेतले स्थानीय उपभोक्ताहरुलाई जानकारी नै नदिई योजनाको काम गर्न थालेका थिए भने उनले आफू अनुकुल केही व्यक्तिहरुसँगको मिलेमतोमा समिति नबनाई काम गरेको स्थानीय उपभोक्ताहरुको दाबी छ ।
कार्यालयलाई कुनै जानकारी छैन । यस विषयमा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानसँग बुझ्दा उनले यस विषयमा कार्यालयमा कुनै जानकारी नआएको बताए ।
‘बाटो वडाध्यक्ष वा कुनै व्यक्तिको निजि लगानीमा बाटो खनिएको पनि हुन सक्छ, आजसम्म उपभोक्ता समिति गठन र काम थालिएको बारे कार्यालयमा कुनै आधिकरिक जानकारी छैन’, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले भने ।
इलाम
प्रतिक्रिया