उपभोक्ता समिति नै नबनाई योजनाको काम गर्दै वडाध्यक्ष बस्नेत

स्काभेटरको ठेकेदार पनि वडाध्यक्ष नै !

इलाम । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माणसम्बन्धी कार्य सञ्चालनका लागि पालिकाहरुले उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरी जारी गर्छन् ।

सोही कार्यविधिबमोजीम विकास निर्माणसम्बन्धी कार्य सञ्चालन गर्ने गर्छन् । यसै क्रममा इलामको माङसेबुङ गाउँपालिकाले ‘माङसेबुङ गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७४’ ९ बैशाख २०७५ को कार्यपालिका बैठकले स्वीकृत गरि लागू गरेको छ ।

तर, सोही गाउँपालिका अर्थात् माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले आफ्नै पालिकाको कार्यविधि लत्याएका छन् । सो वडामा उपभोक्ता समिति गठन नै नगरी योजना निर्माणको काम सञ्चालन भएको खुलासा भएको छ ।

वडा नम्बर २ को ‘वडास्तरीय सडक मर्मत’ का लागि उपभोक्ता समिति गठन नगरी सिधै काम गर्न थालिएको स्थानीयले बताएका हुन् ।

२ नम्बर वडाका विभिन्न सडकहरु मर्मतका लागि चालु आर्थिक वर्ष २०७९–०८० का लागि वडा सिलिङतर्फको सात लाख रुपैयाँको योजनाको काम उपभोक्ता समिति गठन नै नगरी वडाध्यक्षको ठाडो आदेशमा काम थालिएको देखिएको छ ।

वडाध्यक्ष बस्नेतले स्थानीय उपभोक्ताहरुलाई जानकारी नै नदिई योजनाको काम गरेको देखिएको हो । उनले आफू अनुकुल केही व्यक्तिहरुसँगको मिलेमतोमा समिति नबनाई काम गरेको स्थानीय उपभोक्ताहरुको दाबी छ ।

वडाध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन नगरी आफू निकटका केही व्यक्तिबाटै काम सञ्चालन गरेपछि स्थानीयले विरोध गरेका छन् । जनप्रतिनिधिले नै वडाबासीको सल्लाहविनै आफूखुसी काम गरेर आँखामा छारो हाल्ने काम भएको वडावासीहरुको आरोप छ ।

योजना निर्माणमा उपभोक्ता समिति गठन गर्नुपर्ने भए पनि वडाध्यक्ष बस्नेतले त्यसो नगरी आफूखुसी काम भएको उनीहरूको भनाई छ । उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७४’ को परिच्छेद २ दफा ४ उपदफा १ (क) मा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकत सहभागितामा सम्बन्धित आयोजनास्थलमा ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ ।

वडा अध्यक्ष बस्नेतले स्थानीय कुशल इदिङ्गो (पूर्ण) लाई एक्साभेटर उपलब्ध गराएर सडक सरसफाईको काम गर्ने गरि जिम्मेवारी दिएका छन् । औपचारिक रुपमा समिति गठन नभएपनि पछि मिलाम्ला भन्दै इदिङ्गोलाई काम गर्ने दिम्मा दिएका हुन् ।

इदिङ्गोले पनि आफू उपभोक्ता समिति अध्यक्षको दाबेदार भएको भएपनि औपचारिक रुपमा समिति गठन नभएको स्वीकार गरे ।

‘म समितिको अध्यक्षको दाबेदार चाहीँ हो, तर हालसम्म उपभोक्ता समिति गठन भएको छैन’, इदिङ्गोले टेलिफोन सम्पर्कमा भने, ‘वडाध्यक्षले आफै स्काभेटर मिलाएर मलाई अहिले काम गर्दै गर्नु, अरु पछि मिलाम्ला भन्नुभयो, वडाध्यक्षको अनुरोधमा मैले मेसिन लगाउने काम गरिरहेको छु, अरु केही थाहा भएन ।’

सबैलाई पद चाहिएकाले समिति गठन गरिएन : बस्नेत

उता वडाध्यक्ष बस्नेतले भने सबैलाई उपभोक्ता समितिको अध्यक्ष पद नै चाहिने भएकाले समिति गठन नगरी काम गरेको स्वीकार गरे ।

‘सबैलाई समितिको अध्यक्ष पद नै चाहिने, सहमति नभएपछि काम थालियो’, टेलीफोन सम्पर्कमा वडा अध्यक्ष बस्नेतले भने, ‘व्यवहारिक रुपमा अहिले काम गर्ने हो, कागजी प्रक्रिया पछि मिलाउने हो ।’

पहिले उपभोक्ता समिति गठन गर्नुपर्ने हो कि पहिले काम गर्ने हो भन्ने प्रश्नमा वडाध्यक्ष बस्नेतले जवाफ नै नदिई टेलीफोन काटे ।

उपभोक्ता समिति गठनका लागि वडाले दशैँअघि एक भेलाको आयोजना गरेपनि अध्यक्ष पदका लागि ६ जनाले दाबी गरेपछि अर्को भेलाले गठन गर्ने गरी भेल स्थगित भएको थियो । तर, वडाध्यक्ष बस्नेतले अर्को भेलाको आयोजना त गरेनन् नै, सुटुक्क काम नै सुरु गरे । काम सुरु भएपछि स्थानीयले थाहा पाएपछि विरोध सुरु भएको छ ।

स्काभेटरको ठेकेदार पनि वडाध्यक्ष नै !

यसैबीच सो योजना सञ्चालनका लागि प्रयोग गरिएको स्काभेटर समेत वडाध्यक्षले नै उपलब्ध गराएका छन् । स्थानीय व्यवसायीसग वडाध्यक्षले नै डिल गरि स्काभेटर मिलाएर काम गर्ने जिम्मा मात्र स्थानीय इदिङ्गोलाई दिएका छन्

कमिशनको खेलमा स्काभेटर चलाउने विषयमा कतिपय उपभोक्ता समितिमा विवाद समेत हुने गरेको छ । पछिल्लो समय जनप्रतिनिधिहरु नै ठेकेदारको रुपमा संलग्न हुने गरेका छन् ।

फर्जी कागजात बन्ने निश्चित !

सो योजनाको भुक्तानीका लागि सबै कागजात फर्जी बन्ने निश्चित छ । यो समाचार तयार पर्दासम्म उपभोक्ता समिति गठन भएको छैन । प्राविधिक स्टिमेट पनि भएको छैन । उपभोक्ता समिति नै गठन नभई र प्राविधिक स्टिमेटबिना योजना सम्झौता हुने कुरै भएन । सम्झौता नभएको कामको कानूनत भुक्तानी हुँदैन ।

तर, काम झण्डै आधा भइसक्यो । अब यहाँ पुरानो मितिमा उपभोक्ता समिति गठन भएको फर्जी कागजात बनाउनेछ्न् वा पछिल्लो मितिमा काम भएको कागजात बनाउनेछ्न् । प्राविधिक स्टिमेट पनि त्यसरी नै फर्जी बनाउनेछ्न् । अनि स्वयं वडाध्यक्षले काम सम्पन्न भएको भन्दै पालिकामा सिफारिस लेख्नेछ्न् ।

उक्त सबै काम फर्जी हुनेछ । त्यस्तो फर्जी काममा संलग्न हुन जनप्रतिनिधि एवं कर्मचारी कानूनले रोकेको छ । कानून विपरीत काम गर्ने जोकोही कानुनी कारवाहीको भागेदार बन्नेछ्न् ।

प्रतिक्रिया