झिमरुकले गर्यो अवरुद्ध सडक खुलाउन सुरु

प्युठान । झिमरुकमा बेमौसमी वर्षाले अवरुद्ध भएका आन्तरिक सडक खुलाउने काम सुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहितको टोलिले पालिकाभित्र रहेका आन्तरिक सडकको क्षतिको अनुगमन गरेसँगै पहिरोले क्षतिग्रस्त भएका सडकहरुको पहिरो पन्छाउने काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।

पहिलो चरणमा पालिकाको मुख्य सडकहरु मच्छी, चौतामरे, गुल्मी, अर्घाखाँची सडक, बाग्दुला मच्छी गौमुखी सडकको बतासेडाडा मच्छी सडक, मच्छी तुषारा सडक, मच्छी टिमुरचौर दिहाल्ना सडक, मच्छी ढाडा ओखरकोट सडक, ढाडा बादिकोट सडक, झिमरुक रिङरोड, मजुवा दहखोला गोयलछेडी सडकलगायत आन्तरिक सडकहरुको मर्मत सम्भार गरी खुलाउने काम थालिएको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताए ।

यसपालि अत्याधिक वर्षा भएकोले ग्रामिण सडकमा दर्जनौँ ठाउँमा पहिरो खस्दा निकै क्षति भएकोले केही समय लाग्ने अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए । गाउँपालिकाका अध्यक्षसहितको टोली चाडपर्व र वर्षा नभनी स्थानीयको घरगोठ र सडक अनुगमन गरी क्षेतिग्रस्त संरचनाको लगत तयार गर्न थालिएको छ ।

पालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसी त्यस्ता विपदमा परेका घरपरिवारलाई आवश्यक राहत प्याकेज लैजाने अध्यक्ष क्षेत्रीले बताए । दशैंको लागि मर्मत गरिएका सडकहरु अविरल वर्षाको कारण ठाउँ–ठाउँमा जिर्ण भएकोले धेरै खर्च लाग्ने अनुमान पालिकाले गरेको छ ।

सोमबारसम्म पनि वर्षा नरोकिएकोले सडक मर्मत गर्न समस्या भएको अध्यक्ष महतरा क्षेत्रीको भनाइ छ । छिटोभन्दा छिटो बिग्रेको सडक मर्मत गर्न सबै वडाध्यक्षलाई जानकारी गराइएको पालिकाले जानकारी दिएको छ । त्यसोत अहिले देशभर वर्षाले निकै धनजनको क्षति गरेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया