अझै खुलेन प्यूठान-भालुवाङ सडकखण्ड, खुलाउने प्रयास जारी

प्यूठान । निरन्तर वर्षाले दर्जनौं स्थानमा पहिरो खस्दा बन्द भएको प्यूठान-भालुवाङ सडकखण्ड अझै खुल्न सकेको छैन । जिल्ला आउजाउ गर्ने एकमात्र मुख्य सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने यात्रुलाई निकै सास्ती भएको छ । दरभान देखी चकचके जस्पुरसम्म दर्जनौं स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । शनिबार दिनभर जेसिबीबाट धेरै पहिरो हटाउने काम भएको र मोतिपुरमा खसेको ठूलो ढुङ्गा सहितको पहिरो जेसिबीले पन्छाउन नसकेपछि अवरुद्ध भएको सडक खुलाउने प्रयास असफल भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले बताए ।

डिएसपी खड्काका अनुसार आइतबार बिहानै देखि मोतिपुरमा खसेको ढुङ्गा फुटाउने काम भैरहेको छ । उनले भने ‘सडक खुलाउने प्रयास मा छौं ।’ सडक बन्द हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । हिजो यात्रामा निस्केका सयौं यात्रुले निकै सास्ती पाएका थिए ।

बेलुकासम्म सडक खुल्ने आशमा कुरेर बसेका यात्रुहरु पैदलै गन्तव्य तिर लगेको एक यात्रुले बताए । दशै मान्न गाउँ आएका सर्वसाधारण आफ्नो गन्तव्यमा जान नपाउदा मर्कामा परेका छन् । उता सडक खुलाउन आइतबार बिहानैदेखि एक्साभेटर लगाएर ढुङ्गा फुटाउने काम भैरहेकोले अहिले केही समयमा सडक खुल्ने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया