ताप्लेजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को तेश्रो प्रदेशिक भेलाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गरेको छ ।
बुधबार राती ताप्लेजुङको फुङलिङ बजारमा सम्पन्न भेलाले ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको हुँदा इतिहास र योगदानको सम्मान गर्दै महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई नै घोषणा गर्न माग दोहोर्याएको हो । महासंघले हालसम्म संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्दै आएको छ ।
भेलाले विभिन्न समसामयिक विषय समेटेर १२ बुँदे ‘ताप्लेजुङ घोषणापत्र’ जारी गरेको छ । घोषणापत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशी बनाउन, सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चार माध्यममा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न माग गरेको छ ।
त्यस्तै मातृ भाषा (राष्ट्र भाषा) मा प्रकाशन/प्रशारण हुने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरता एवम् प्रेस काउन्सिलबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गर्न, राज्यबाट वितरण गरिने विज्ञापन समानुपातिक आधारमा साना तथा ठूला सञ्चारमाध्यमलाई उपलब्ध गराउने कानूनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
भेलाले आदिवासी जनजातिहरुको साँस्कृतिक सम्पदामाथिको अतिक्रमण अन्त्य गर्दै पहिले मातृभाषाबाट नामाकरण गरिएका विभिन्न ठाउँहरुको नाम हाल अपभ्रशं गर्दै खस नेपालीकरण गरिएकोमा त्यसलाई पुनर्उत्थान र पुनःलेखन गर्न माग गरेको छ ।
त्यस्तै नामाङकरण हुन बाँकी रहेको प्रदेश १ को नामाकरण पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आाधारमा ‘लिम्बुवान किरात’ वा ‘किरात लिम्बुवान’ राख्न माग समेत गरेको छ ।
दुई दिन चलेको भेलामा फोनिज प्रदेश १ का पदाधिकारी र सदस्य, जिल्ला शाखा अध्यक्ष र प्रतिनिधि, संघीय पदाधिकारी र सदस्य एवम् सल्लाहकार गरी ५० बढीको सहभागिता रहेको थियो । फोनिज प्रदेश समितिको आयोजना र ताप्लेजुङ शाखको व्यवस्थापनमा भएको भेलाको उद्घाटन प्रदेश उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए । मन्त्री हाङ्गामले आदिवासी जनजातिका भाषा, कला, संस्कृतिको उजागर र अधिकार स्थापनाका लागि फोनिजकर्मीहरुको भूमिका महत्वपूणर् रहने बताए ।
कार्यक्रममा फोनिज संघीय कार्य समितिका अध्यक्ष गजुरधन राई, उपाध्यक्ष अमरध्वज लामा र कमन देवान, सल्लाहकार कौशल चेम्जोङलगायतले फोनिजले आदिवासी जनजातिसँग जोडिएका सबै सवालहरुलाई उठाउँदै आएको र आदिवासी जनजाति पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिवृद्धिका लागि लागिपरेको बताए । कार्यक्रम अन्तरगत ताप्लेजुङमा रहेको पवित्र आध्यात्मिक स्थल मुक्कुम्लुङ (फाथीभरा) को भ्रमण, अवलोकन समेत गरिएको प्रदेश अध्यक्ष सन्तबीर लामाले बताए ।
इलाम
प्रतिक्रिया